पोखरा , १३ पुष २०८२।
नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव कार्यकाल सकिनै लाग्दा स्वदेश फर्किएका छन्। उनी एअर इण्डियाको उडान नम्बर AI–218 मार्फत केही समयअघि नयाँ दिल्ली प्रस्थान गरेका हुन्।
राजदूत श्रीवास्तवसँगै उनकी पत्नी पूर्णसाहिला तथा छोरीहरू भाव्या र सुरम्या पनि भारत गएका छन्। करिब साढे तीन वर्षअघि नेपालका लागि राजदूतका रूपमा नियुक्त भएका श्रीवास्तवले भारत–नेपाल सम्बन्धलाई कूटनीतिक, आर्थिक र रणनीतिक स्तरमा अगाडि बढाउन भूमिका खेलेका थिए।
यसअघि गत मंसिर २७ गते काठमाडौंको दक्षिणकाली नगरपालिका–९ स्थित भस्मेसुर डाँडाको जंगलमा हाइकिङका क्रममा अचानक लडेर बेहोस भएपछि श्रीवास्तवलाई सेनाको सहयोगमा हेलिकप्टरमार्फत उद्धार गरिएको थियो। उनलाई टोखा नगरपालिका–८ स्थित ग्राण्डी अस्पतालमा भर्ना गरी मुटुको शल्यक्रिया गरिएको थियो।
स्वास्थ्य उपचारपछि पुस ४ गते अस्पतालबाट डिस्चार्ज भएका श्रीवास्तव लैनचौरस्थित भारतीय दूतावासमा आराम गरिरहेका थिए। स्वास्थ्यमा सुधार आएपछि उनले कार्यकालको अन्तिम चरण पूरा गर्दै स्वदेश फर्किने निर्णय लिएका हुन्।
नवीन श्रीवास्तवले सन् २०२२ मा मञ्जीवसिंह पुरीलाई प्रतिस्थापन गर्दै नेपालका लागि भारतको राजदूतको जिम्मेवारी सम्हालेका थिए। उनको कार्यकालमा ऊर्जा सहकार्य, सीमा व्यवस्थापन, पूर्वाधार विकास, सांस्कृतिक आदान–प्रदान तथा उच्चस्तरीय राजनीतिक संवादहरूमा उल्लेखनीय सक्रियता देखिएको थियो।
अमेरिका र चीनका राजदूतहरू पनि विभिन्न कारणले स्वदेश फर्कने क्रम सुरु भएकै बेला भारतका राजदूतको प्रस्थानले कूटनीतिक वृत्तमा चासो बढाएको छ। अब नेपालका लागि भारतको नयाँ राजदूत को आउने भन्ने विषयलाई कूटनीतिक क्षेत्रले नजिकबाट हेरिरहेको छ।