पोखरा, ९ पुष २०८२।
आफू कुनै हालतमा उच्चस्तरीय छानबिनमा नजाने, यदि एमालेका कुनै नेता – कार्यकर्तालाई पक्राउ गर्न खोजिए त्यसको प्रतिबाद गर्न निर्देशन दिएका एमालेका अध्यक्ष केपी शर्मा ओली अन्तत: बयान दिन तयार देखिएका छन्। तर उनले बयान आयोगमा गएर नदिने संकेत गरेका छन्। मंगलबार राष्ट्रपति भवन शितलनिवासमा आयोजित भेटघाट कार्यक्रममा पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले त्यस्तो संकेत गरेका हुन्।
जेनजी आन्दोलनका घटना जाँचबुझ गर्न गठित आयोगप्रति सबैभन्दा असन्तुष्ट छन् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली। आयोग गठनदेखि नै उनले यसको औचित्य र कार्यशैलीमाथि टिप्पणी गर्दै आएका छन्।
उक्त भेटघाटमा एमाले अध्यक्ष ओलीले भने आफूलाई जाँचबुझ आयोगले बयान लिन लागेको विषय पनि उठाए। यसअघि जस्तै असन्तुष्टि पोखे।
राष्ट्रपति कार्यालय सम्वद्ध स्रोतका अनुसार, ओलीले चुनावी वातावरण नबनेको उल्लेख गर्दै छलफलको बीचमा भनेका थिए, ‘यो कार्की आयोगको काम छैन, किन बनाएको? मसँग कुरा गर्नुछ भने गुन्डुको मेरो घरमै पठाइदिनुस्, म जे–जे भन्नु छ, त्यहीँ भनौँला।’
ओलीले आफ्नो बयान लिन घरमै आए स्वीकार गर्ने तर जाँचबुझ आयोगको कार्यालय सिंहदरबार भने नजाने संकेत पछिल्ला दिनमा गरिरहेका थिए। शीतल निवासमा मंगलबार राष्ट्रपति पौडेल, प्रधानमन्त्री कार्की, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा संयोजक प्रचण्डको सामुन्ने त्यही कुरा दोहोर्याएका हुन्।
जाँचबुझ आयोगले केही दिनमै बयानका लागि ओलीलाई पत्राचार गर्ने तयारी गरेको छ। मंगलबार ओली सरकारकै गृहमन्त्री रमेश लेखकलाई बोलाउँदै पत्रचार गरेको छ।
लेखकले अहिलेसम्म पत्र प्राप्त नभएको बताएका छन्। पत्र प्राप्त भइसकेपछि बयान दिने/नदिने, दिए कहिले दिने भन्ने निर्णय गर्ने प्रतिक्रिया लेखकको छ। लेखकको बयानपछि ओलीलाई बोलाउने आयोगका प्रवक्ता विज्ञानराज शर्माले बताए।
तर ओलीले भने आयोग गठन गर्ने प्रधानमन्त्री र राष्ट्रपति सामु नै बयान नदिने दोहोर्याएका छन्। प्रतिनिधिमुलक चित्र