पोखरा , ८ पुष २०८२।
राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्की र ३ ठूला दलका शीर्ष नेताबीच भएको छलफलमा फागुन २१ गते तोकिएको चुनावका लागि वातावरण बनाउने समझदारी गरेकै दिन नेपाली कांग्रेस र एमाले संसद पुर्स्थापनको माग राखेर सर्बोच्च अदालत पुगेका छन्।
राष्ट्रपति भवन शीतल निवासमा मंगलबार अपरान्ह प्रधानमन्त्री सुुशीला कार्कीसहित नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको छलफलमा फागुन २१ गते तोकिएको चुनावका लागि वातावरण बनाउने समझदारी भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
चुनावको वातावरण बनाउन विस्तृत छलफल बालुवाटारमा गर्ने समझदारी बनेको पनि राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले बताए।
राष्ट्रपति पौडेलले देशको वर्तमान जटिल अवस्थाको निकासका लागि निर्वाचन नै उपयुक्त विकल्प भएको बताउँदै आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन प्रधानमन्त्रीसहित मुख्य तीन राजनीतिक दलका शीर्ष नेताहरूलाई आग्रह गरे ।
यसैबिच प्राप्त अर्को एक जानकारी अनुसार , प्रतिनिधि सभा विघटनविरुद्ध एकसय ४३ सांसदको हस्ताक्षरसहितको रिट निवेदन सर्वोच्च अदालतमा दर्ता भएको छ।
नेपाली कांग्रेस, नेकपा एमाले, जनमत र स्वतन्त्र सांसद गरि एकसय ४३ जनाले हस्ताक्षर गरेको विघटनविरुद्धको रिट सर्वोच्चले मंगलबार दर्ता गर्दै पेशी समेत तोकेको छ।
पूर्वमहान्यायधिवक्ता तथ वरिष्ठ अधिवक्ता खम्बबहादुर खातीले सर्वोच्चले रिट दर्ता गरेकाे र पेशी समेत तोकेको जानकारी दिए।
‘एउटै विषयमा परेका रिटहरुा एकै ठाउँमा राखेर बहस गर्ने कानुन छ’, उनले भने, ‘त्यसैअनुसार भोलिका लागि पेसी तोकिएको हो।’
रिटमा नेपाली कांग्रेसका ६५ जना, एमालेका ७५ र जसपाका दुई र एक स्वतन्त्र गरि एकसय ४३ जना सांसदले हस्ताक्षर गरेका हुन्।
यसअघि कांग्रेस र एमालेले दिएको छुट्टाछुट्टै रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले प्रतिनिधि सभा विघटनविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो।