रवि लामिछाने र बालेन शाहबीच मध्यराती तीन घण्टा लामो के कुरा भयो ?

रवि लामिछाने र बालेन शाहबीच मध्यराती तीन घण्टा लामो के कुरा भयो ?


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ८ पुष २०८२
  • 3.5K
    Shares

पोखरा, ८ पुष २०८२।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाण्डौ महानगरका मेयर बालेन शाहका बीच गएको मध्यराती तीन घण्टासम्म गम्भीर छलफल भएको छ।

रास्वपाका केन्द्रीय सदस्य असीम शाहको कमलपोखरीस्थित निवासमा लामिछाने र बालेनबिच लामो छलफल भएको हो ।

तीन घण्टाभन्दा बढी चलेको छलफलमा रास्वपा पक्षबाट सभापति लामिछानेसँगै उपसभापति डोलप्रसाद (डीपी) अर्याल र असीम शाह तथा बालेन पक्षबाट उनका सहयोगी कुमार व्यञ्जनकार (कुमार बेन), निश्चल बस्नेतलगायत सहभागी थिए ।

रास्वपाका प्रवक्ता मनीष झाका अनुसार, भेटमा आपसी सहकार्य गरेर अघि बढ्ने विषयमा मुख्य कुराकानी भएको छ । स्रोतहरूले मुलुकको समसामयिक राजनीतिक अवस्था, भावी योजना तथा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै चुनावी तालमेल र सहकार्यका विषयमा गहन छलफल भएको जनाएका छन् ।

बालेन निकट स्रोतले दाबी गरे अनुसार, छलफलमा रवि लामिछानेले बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने गरी सहकार्यको प्रस्ताव राखेका छन् । यसका लागि बालेनसँग सम्बद्ध भनिएको समूह वा सम्भावित ‘देश विकास पार्टी’ र रास्वपाबिच एकीकरण गरी नयाँ दलको नाम रास्वपा नै राख्ने विकल्प पनि छलफलमा आएको उनीहरूको भनाइ छ ।

यद्यपि, रास्वपा स्रोतले यति गहिरो र विस्तृत प्रस्तावमा कुरा नपुगेको बताएका छन् । उनीहरूका अनुसार सहकार्यको सम्भावनाबारे मात्र सामान्य छलफल भएको हो । प्रवक्ता झाले पनि दुवै पक्षबिच आपसी सहयोग र संवाद जारी रहेको पुष्टि गरेका छन् ।

यसैबिच, रास्वपाका नेता तथा पूर्व सांसद शिशिर खनालले एक टेलिभिजन कार्यक्रममा बालेनलाई प्रधानमन्त्री उम्मेदवारका रूपमा अघि सार्न सकिने बताएका छन् । उनले भने, “पार्टी सभापति रवि लामिछाने स्वाभाविक हकदार हुनुहुन्छ । त्यसबाहेक कुलमान घिसिङ र काठमाडौँ मेयर बालेन शाह पनि स्वाभाविक पात्र हुन् ।”

भेटघाटलाई वैकल्पिक राजनीतिक धारका नेताहरूबिच बढ्दो निकटताको सङ्केतका रूपमा हेरिएको छ । रिहाइपछि लामिछानेले आइतबार नै अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीसँग पनि छलफल गरेका थिए । निर्वाचन नजिकिँदै गर्दा यस्ता संवादहरूले पुराना दलहरूलाई चुनौती दिने नयाँ गठबन्धन वा सहकार्यको आधार तयार पार्ने अनुमान गरिएको छ ।

पछिल्लो समय वैकल्पिक शक्तिहरूबिच एकता वा सहकार्यको चर्चा तीव्र बनेको छ । यसै सन्दर्भमा रास्वपा, बालेन समूह र अन्य वैकल्पिक नेताहरूबिच संवाद जारी रहेको बुझिएको छ ।

प्रतिक्रिया