अब चुनाब हुनु एक महिना अघि मात्र सेना परिचालन हुने

अब चुनाब हुनु एक महिना अघि मात्र सेना परिचालन हुने


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ७ पुष २०८२
  • 5.4K
    Shares

पोखरा, ७ पुष २०८२।

अब चुनाब हुनु एक महिना अघि मात्र चुनाबी सुरक्षाका लागि सेना परिचालन हुने भएको छ।

फागुन २१ गते तोकिएको निर्वाचनका लागि मंसिरको दोस्रो साता नै सेना परिचालनको निर्णय सरकारले गरेको भए पनि अब चुनाब एक महिना अघि मात्र चुनाबी सुरक्षाका लागि सेना परिचान हुने नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले जानकारी दिए।

‘निर्वाचनलाई स्वतन्त्र, निस्पक्ष, भयरहित र विश्वासनीय बनाउन नेपाली सेना परिस्थितिलाई मध्यनजर गरी केन्द्रीय सुरक्षा समितिबाट स्वीकृति भएको प्रतिनिधि सभा निर्वाचन सुरक्षा योजना, २०८२ मा आधारित रही नेपाली सेनाले निर्वाद रुपमा निर्वाचन सुरक्षार्थ गर्नुपर्ने कार्यहरुलाई प्राथमिकतामा राखेर गरिरहेको छ’, प्रवक्ता बस्नेतले भने, ‘निर्वाचनको ३० दिन अगाडीबाट हाम्रा कार्यहरु सञ्चालन गर्न सुरु गर्छौँ।’

सुरक्षा योजना अनुसार निर्वाचनका लागि मतपत्र छपाइ र ढुवानीको सुरक्षाको जिम्मेवारी सेनालाई दिइएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीले दिँदै आएको महत्वपूर्ण संरचना प्रतिष्ठानहरूको सुरक्षामा पनि निर्वाचन अवधिभर नेपाली सेना खटिने छ।

तर यी स्थानको सुरक्षा जिम्मा पनि निर्वाचन आउनु ३० दिन अगाडीबाट मात्रै सेनाले लिनेछ। यस्तै निर्वाचनमा देखा पर्न सक्ने संकास्पद विस्फोटक पदार्थहरुलाई निस्क्रिय पार्ने काम पनि सेनाले गर्नेछ। जुन जिम्मेवारी यसअघिका निर्वाचनमा पनि सेनाले नै लिँदै आएको थियो।

‘पहिलेका निर्वाचनमा भन्दा यसपटक नेपाली सेनाको भूमिकामा केही फरक छैन। गएका निर्वाचनमा हामीले जुन भूमिका खेलेका थियौँ यसपटक पनि त्यही नै हो’, बस्नेतले भने, ‘एकीकृत सुरक्षा योजनाले जे दिशा निर्देश गरेको छ। परिस्थिति अनुसार हामी सुरक्षा व्यवस्था मिलाउँछौँ। हामी यसपटक खटिने बाहिरि घेरामै हो।’

सरकारले मंसिर ११ गते नै सेना परिचालनको निर्णय गरेको थियो। यसपटक तीन महिना पहिलेबाटै सेना खटाउने सरकारकै उच्च अधिकारीहरुले भनेका थिए।

प्रतिक्रिया