पोखरा ४ पुष २०८२।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज जिल्ला अदालत रुपन्देही जाँदैछन्।
उच्च अदालत तुल्सीपुरले बिहिबार लामिछानेलाई सशर्त रिहाइ गर्न आज आदेश दिएको अवस्थामा कागजी प्रक्रिया पूरा गर्न उनी आज जिल्ला अदालत रुपन्देही जान लागेका हुन्।
जिल्ला अदालत रुपन्देहीमा पुगेर कागजात लिनुपर्ने रास्वपाका नेता हरि ढकालले जानकारी दिए । त्यसपछि मात्र लामिछाने जेलमुक्त हुने बताइएको छ ।
बिहीबार तुलसीपुर उच्च अदालत, बुटवल इजलासका न्यायाधीश वासुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासले सहकारी ठगी सम्बन्धी कसूर र संगठित अपराध मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई सुरु जिल्ला अदालतको गत २६ साउनको आदेश बदर गर्दै थुनामुक्त गर्ने आदेश दिएको हो ।
आदेशमा भनिएको छ, ‘अदालतबाट फैसला हुँदा ठहरेबमोजिम हुने नै हुँदा साथै फैसलाको बिगोका हकमा थप दायित्व सिर्जना गरेमा तिर्न बुझाउन मञ्जुर भए सोको कागज गरी प्रतिवादी रवि लामिछानेलाई प्रस्तुत मुद्दाको रोहबाट थुनामुक्त गर्नू ।’
बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा जिल्ला अदालत रुपन्देहीको आदेशले पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले उक्त सहकारीबाट रकम प्रवाह भएको बिगोमध्ये दामादाहीले हुने बिगो बैंक ग्यारेन्टी राखी फुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७१ अनुसार बैंक ग्यारेन्टी लिई मुद्दाको पुर्पक्ष गरी पाउँ भनी निवेदन दिएका थिए । तर, गत २६ साउनमा जिल्ला अदालतले बाहिरै बसेर मुद्दाको पुर्पक्ष गरी पाउँ भन्ने लामिछानेको मागमा न्यायाधीश नारायण सापकोटाको इजलासले रिहा गर्न अस्वीकार गरेको थियो ।
उक्त आदेशविरुद्ध लामिछानेले उच्च अदालतमा निवेदन दिएका थिए । धेरैपल्टसम्म पेसी सर्दैआएको उक्त मुद्दाको बिहीबार बल्ल आदेश आएको हो ।
उच्च अदालतको आदेशअनुसार सुरु जिल्ला अदालतको गत १३ माघको सुरु थुनछेकको क्रममा माग गरेको धरौटी रकम दफा ६८ अनुसार स्वीकार गर्ने, प्रतिवादीले निवदेनसाथ पेस गरेको बैंक जमानत (ग्यारेन्टी) २ करोड ७४ लाख ८४ हजार बिगोका हकमा सुरक्षित गर्ने, प्रतिवादी व्यक्तिगत वा संस्थागत रुपमा विदेश यात्रा गर्नुपरेमा अदालतलाई पूर्व जानकारी दिनुपर्ने उल्लेख छ ।
यसैगरी, लामिछानेसँगै थुनामा रहेका प्रतिवादी छविलाल जोशीको हकमा समेत सुरु जिल्ला अदालतको आदेश बदर गरुी थुनामुक्तको आदेश दिइएको छ ।