पोखरा ४ पुष २०८२।
नेपाल सरकारले उपहार स्वरुप कतार सरकारलाई दिएका एक जोडी हात्ती लिएर दुई जना नेपाली माउते यतिबेला कतार पुगेका छन्।
आठ वर्षकी रुद्रकलीलाई लिएर नेपाली माउते बुद्धिलाल श्रेष्ठ र सात वर्षीय खगेन्द्र प्रसादलाई लिएर माउते पाँचु खाँ थारू कतार पुगेका हुन्।
कतार पठाइएका ती दुवै हात्तिलाई बुद्धिलाल श्रेष्ठ र पाँचु खाँ थारूले माया गरेर हुर्काएका थिए। तर तीनै हात्तिलाई कतार पठाउनुपर्दा उनीहरूको मन निकै भारी भएको थियो।
आठ वर्षकी रुद्रकलीलाई बुद्धिलालले चार वर्षको उमेरदेखि स्याहार गर्दै आएका थिए। बुद्धिलालले टाढाबाट बोलाउँदा पनि उसले सजिलै चिन्थी र नजिक जान्थी।
चितवनबाट विदा हुँदा नै उनीहरू निकै भावुक भएका थिए। एक महिना हात्तिको स्याहार गरेर त्यहीँ जिम्मा लगाएपछि उनीहरू नेपाल फर्किनेछन्। प्रिय दुई हात्तिलाई विदेश पठाउँदा उनीहरूलाई परिवारको सदस्य गुमाएको जस्तो महशुस भएको उनीहरुले बताएका छन् ।