नेपाली सेनाका ६ उपरथीको सरुवा, तीन पृतनापति हेरफेर

नेपाली सेनाका ६ उपरथीको सरुवा, तीन पृतनापति हेरफेर


  • जन संचार
  • बुधबार, २ पुष २०८२
  • 3.8K
    Shares

पोखरा, २ पुष २०६२।

सरकारले तीन वटा पृतनाका पृतनापतिसहित ६ जना उपरथीको सरुवा गरेको छ । नेपाली सेनाको सिफारिसमा मन्त्रिपरिषद् बैठकले उनीहरुको सरुवा गरेको हो।

सरकारको निर्णयसँगै पश्चिम पृतना पोखराका पृतनापति मधुकरसिंह कार्कीको सैनिक मुख्यालय जंगी अड्डामा सरुवा भएको छभने उनको ठाउँमा नेपाली सेनाको निरीक्षणाधिकृत जंगी अड्डामा कार्यरत उपरथी भोलानाथ थापा आउने भएका छन्।

थापा गत भदौ ९ गते सहायक रथीबाट उपरथीमा बढुवा भएका थिए। बढुवासँगै उनले निरीक्षणाधिकृतको जिम्मेवारी पाएका थिए। उनले तीन महिनापछि पृतनाको कमाण्ड गर्ने जिम्मा पाएका हुन्। 

त्यस्तै, मध्य पृतना हेटौँडाका पृतनापति हरेन्द्र पाठक प्रबन्ध रथी विभाग जंगी अड्डामा सरुवा भएका छन्। पाठकको सरुवासँगै अब मध्य पृतनाको जिम्मेवारी उपरथी विष्णुकुमार खड्काले पाएका छन्। खड्का यसअघि जंगी अड्डामा अतिरिक्त समूहमा थिए। 

यस्तै मध्यपश्चिम पृतना बुटवलका पृतनापति प्रेमबहादुर पुनको पनि सरुवा भएको छ। पुनलाई जंगी अड्डा सरुवा गर्दै उपरथी हिम्मतबहादुर विष्टलाई मध्यपश्चिम पृतनामा खटाइएको छ। विष्ट स्टाफ कलेज शिवपुरीमा कार्यरत थिए। 

यस्तै मध्य पृतना र मध्य पश्चिम पृतनाको जिम्मेवारी पाएका खड्का र विष्ट एकसाथ उपरथीमा बढुवा भएका थिए। उनीहरूले २०८२ कात्तिक १६ गते उपरथीको दर्ज्यानी पाएका थिए। सँगै बढुवा भएका उनीहरूले पृतनाको कमाण्ड गर्ने अवसर पनि सँगै पाएका हुन्।

सेनाका ८ वटा पृतनामध्ये अन्य ५ पृतनामा भने पृतनापति यथावत छन्। सुदूरपश्चिम पृतनामा उपरथी किरण केसी, उत्तरपश्चिम पृतनामा दिपेशजंग शाह, मध्यपूर्व पृतनामा कृष्णबहादुर जिसी, पूर्वी पृतनामा उपरथी गौरवकुमार केसी र उपत्यका पृतनामा रविन्द्र खत्री कार्यरत छन्।

प्रतिक्रिया