एमाले अनुशासन आयोग अध्यक्षमा ‘भ्रष्टाचारी’ पोखराका भरत पहारी निर्विरोध निर्वाचित

एमाले अनुशासन आयोग अध्यक्षमा ‘भ्रष्टाचारी’ पोखराका भरत पहारी निर्विरोध निर्वाचित


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १ पुष २०८२
  • 2.9K
    Shares

पोखरा, १ पुष २०८२।

भ्रष्टाचारसम्बन्धी मुद्दामा दोषी ठहर भएका पोखराका प्रा.डा. भरतराज पहारी नेकपा एमालेको अनुशासन आयोगको अध्यक्षमा निर्बिरोध निर्वाचित भएका छन्।

काठमाडौंमा जारी नेकपा (एमाले) को ११औँ महाधिवेशन मा भएको नेतृत्व चयनका लागि भएका निर्व्वाचन प्रक्रियामा केन्द्रीय अनुशासन आयोगको अध्यक्ष पदमा प्रा.डा. भरतराज पहारी निर्विरोध निर्वाचित भएका हुन्। महाधिवेशन निर्वाचन प्रक्रियाअनुसार अध्यक्ष पदमा अरू कुनै उम्मेदवारी नपरेपछि पहारी स्वतः निर्वाचित भएको घोषणा गरिएको हो।

प्रा.डा. पहारी यसअघि भ्रष्टाचारसम्बन्धी मुद्दामा दोषी ठहर भइसकेका व्यक्ति हुन्। पुल्चोक इन्जिनियरिङ क्याम्पसका डिनका रूपमा कार्यरत रहँदा अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध मुद्दा दायर गरेको थियो। विशेष अदालतले २०७५ सालमा उक्त मुद्दामा दोषी ठहर गर्दै १० महिना कैद र ९८ लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। हाल पहारी पोखरामा होटल व्यवसायमा संलग्न छन्।

यस्तै, केन्द्रीय अनुशासन आयोगकै उपाध्यक्ष पदमा चक्रबहादुर पराजुली र सचिव पदमा डा. राजेन्द्र घिमिरे पनि निर्विरोध चयन भएका छन्। यसैगरी, एमालेको केन्द्रीय लेखा आयोगको अध्यक्ष पदमा डा. पुष्पराज कँडेल पनि एकल उम्मेदवारका रूपमा निर्विरोध भएका छन्।

प्रतिक्रिया