पोखरा, २७ मङ्सिर २०८२।
दाङको लमहीमा पेस्तोल पड्किँदा एक जना घाइते भएका छन् ।
शनिबार बिहान पौने ११ बजे पेस्तोल पड्किँदा लमहीको रातो डाँडास्थित रोयल प्यालेस होटलमा कार्यरत १८ वर्षीय सिसम गौतम घाइते भएका हुन्।
कोठा सफा गर्ने क्रममा एसीमाथि लुकाएर राखिएको पेस्तोल निकाल्दा अचानक पड्किँदा गौतमको औँलामा चोट लागेको जिल्ला प्रहरी कारेयालय दाङका प्रवक्ता डिएसपी चक्रबहादुर शाहले जानकारी दिए।
गौतमको अवस्था सामान्य रहेको छ। घटनाबारे जानकारी पाउनासाथ वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक रोशनराज पाण्डे नेतृत्वको टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ।
यसअघि पनि लमहीस्थित एक सुनचाँदी पसलमा गोली चल्दा एक जना घाइते भएका थिए। प्रहरी स्रोतका अनुसार यहिँ मंसिर २० गते लमहीको जुन तारा सुनचाँदी पसलमा लूटपाट गर्ने क्रममा गोली हानिएको पेस्तोल उक्त होटेलमा लुकाइएको थियो । गोली चलाउने व्यक्ति अझैँ फरार छन् । प्रहरीले होटेल संचालकलाई नियन्त्रणमा लिएर होटेलको खानतलास सुरू गरेको छ ।