रक्सीले मातेपछि पोखरामा आफ्नै साथीले गरे साथीको हत्या : कृष्ण थापा पक्राउ

रक्सीले मातेपछि पोखरामा आफ्नै साथीले गरे साथीको हत्या : कृष्ण थापा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २५ मंसिर २०८२
  • 6.8K
    Shares

पोखरा, २५ मङ्सिर २०८२।

पोखराको भद्रकालीमा बुधबार राती आफ्नै दुई जना साथीले एक जना मजदुरको ढुंगाले हानेर हत्या गरेका छन्।

पोखरा महानगरपालिका वडा नम्बर १६ बाटुलेचौर घर भई हाल पोखरा १२ हस्पिटल चोक बस्दै आएका ६० वर्षीय रमेश सुनारको बुधबार राती उनकै साथीहरुले ढुंगाले हानेर हत्या गरेका हुन्।

उनको हत्यामा संलग्न रहेको आरोपमा पाल्पाको रामपुर घर बताउने ३८ वर्षीय कृष्ण थापालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

प्राप्त घटना विवरण अनुसार , जहाँ जे काम पायो त्यहीं गएर मजदुरीको काम गर्दै आएका रमेश सुनार र कृष्ण थापा समेत तीन जना मिलेर बुधबार साँझ पोखरा-१२ भद्रकाली नजिकै मदिरा सेवन गरेका थिए। मदिरा सेवन गर्दै जाँदा उनीहरु बीच बिबाद हुन्छ। मदिराले मात्तिएका उनीहरुबिचको झगडा त्यहाँबाट निस्किए पछि पनि रोकिन्न। हिँड्दै जाने क्रममा भद्रकाली जंगल नजिकै खाली जग्गामा कृष्ण थापा र उनको साथी मिलेर रमेश सुनारलाई ढुंगाले हानेर हत्या गरेर उनीहरु त्यहाँबाट भाग्छन।

बिहिबार बिहान स्थानीयले एक जना पुरुष मृत देखेको भन्दै प्रहरीलाई खबर गरे पछि प्रहरी घटनास्थल पुगेको थियो। घटनास्थल हेर्दा मृत्यु भएका व्यक्तिलाई ढुंगाले हानेर हत्या गरेको निष्कर्ष निकालेको कास्की प्रहरीले सुनारको हत्यामा संलग्न रहेको आरोपमा उनकै साथी कृष्ण थापालाई पक्राउ गरेको कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीले जानकारी दिए । घटनामा संलग्न एकजनाको खोजी भइरहेको उनले बताए ।

हत्या गरेर फालिएको शव फेला परेपछि प्रहरीले कुकुरको सहायताले हत्यामा संलग्नहरूको खोजी थालेको थियो । सीसी क्यामेरा फुटेज, प्रत्यक्षदर्शीको समेत सहयोगमा हत्यामा संलग्न व्यक्ति पक्राउ गरेको एसपी कार्कीले जानकारी दिए ।

प्रहरीले कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान गरिरहेको छ । मृतक सुनारको शव पोस्टमार्टमपछि श्रीमती र छोराले बुझेका छन् ।

प्रतिक्रिया