गोवा नाइट क्लब आगजनीमा यी चार जना नेपालीको मृत्यु भएको खुलासा

गोवा नाइट क्लब आगजनीमा यी चार जना नेपालीको मृत्यु भएको खुलासा


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २२ मंसिर २०८२
  • 2.5K
    Shares

पोखरा, २२ मङ्सिर २०८२।

भारतको गोवास्थित ‘बिर्च बाई रोमियो लेन’ नाइट क्लबमा शनिबार राती भएको आगलागीमा परेर मृत्यु भएका २५ जनामध्ये चार जना नेपालीहरु रहेको खुलेको छ।

भारतस्थित बिभिन्न सञ्चार माध्यमहरुले प्रशारण गरेको समाचार अनुसार , मृत्यु भएका २५ जना मध्ये १६ जना त किचेनमा काम गर्ने स्टाफहरु रहेका थिए। ती मध्ये चार जना नेपाली , झारखण्डका तीन, उत्तराखण्डका ६ र आसामका एकजना स्टाफको उक्त आगलागीमा परेर मृत्यु भएको छ। मृत्यु भएका चार नेपालीहरुमा चुर्ण बहादुर पुन , बिबेक कटुवाल , सबिन र सुदिप नाम गरेका नेपाली नागरिक रहेका छन्। आधिकारिक रुपमा उनीहरुको मृत्युका बारेमा सरकारले पुष्टि भने गरिसकेको छैन।

डान्स फ्लोरमा करिब सय जना रमाइरहेका थिए, अचानक विस्फोट भएपछि सबै ज्यान बचाउन बेसमेन्टतिर भागेका थिए । तर साँघुरो भाग भएकाले धुवाँले बेसमेन्ट भरिएर निसास्सिएका २० जनाको मृत्यु भयो। चार पर्यटकसहित कुल २५ जनाले ज्यान गुमाए। ६ जना घाइतेको अस्पतालमा उपचार भइरहेको छ।

गोवा प्रहरी प्रमुख आलोक कुमारले सिलिन्डर विस्फोट नै दुर्घटनाको मुख्य कारण रहेको बताए। गोवाका मुख्यमन्त्री प्रमोद सावन्तले क्लबमा अग्नि सुरक्षा मापदण्ड एकदमै कमजोर रहेको र नियम मिचेर सञ्चालन अनुमति दिने अधिकारीहरूविरुद्ध पनि कारबाही हुने बताएका छन्।

उनले भनेका छन्, ‘हामी क्लब व्यवस्थापन र सुरक्षा मापदण्डहरू उल्लङ्घन गरे पनि सञ्चालन गर्न अनुमति दिने अधिकारीहरू विरुद्ध कारबाही गर्नेछौँ। गोवाको चरम पर्यटकीय मौसममा यो दुर्भाग्यपूर्ण घटना हो। हामी यसको गहन अनुसन्धान गर्नेछौँ र जिम्मेवार व्यक्तिहरू विरुद्ध कडा कारबाही गरिनेछ।’ प्रहरीले आपराधिक हत्याको मुद्दा दर्ता गरेको छ।

गोवाको अरपोरा क्षेत्रस्थित एक नाइट क्लबमा शनिबार राति भएको ग्यास सिलिन्डर विस्फोट र त्यसपछिको आगलागीका कारण २५ जनाको ज्यान गएको छ भने ६ जना घाइते भएका छन्। मृत्यु हुनेहरूमा चार जना पर्यटक र १४ जना क्लबका कर्मचारीहरू रहेको पुष्टि भएको छ। बाँकी सात जनाको पहिचान भने खुल्न सकेको छैन।

गोवा प्रहरीले घटनालगत्तै क्लबका प्रबन्धकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार राति करिब १२ बजे क्लबमा सिलिन्डर विस्फोट भयो। विस्फोट यति शक्तिशाली थियो कि केही मिनेटमै आगो क्लबको सम्पूर्ण भागमा फैलियो। दमकलका कर्मचारीहरूले लामो प्रयासपछि आगो नियन्त्रणमा लिएका थिए।

घटनास्थलमा मुख्यमन्त्री प्रमोद सावंत र स्थानीय विधायक माइकल लोबो पुगेका थिए। मुख्यमन्त्री सावंतले मृत्यु हुनेमध्ये तीन जनाको जलेर र बाँकीको निसास्सिएर ज्यान गएको बताएका छन्। उनले घटनाको पूर्ण अनुसन्धान गरिने र दोषीमाथि कडा कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

१६ जना स्टाफ मध्ये चार जना नेपाली ,झारखण्डका ३, उत्तराखण्ड ६ र आसामका १

सुरक्षा नियमको उल्लङ्घन र अनुसन्धान
प्रारम्भिक अनुसन्धानले नाइट क्लबमा फायर सेफ्टी नियमहरूको पालना नगरिएको पाइएको छ। फरेन्सिक विज्ञान प्रयोगशाला (एफएसएल)को टोलीले आगलागीको वास्तविक कारण पत्ता लगाउन अनुसन्धान गरिरहेको छ।

गोवाका डीजीपी आलोक कुमारले २५ जनाको शव फेला परेको र ज्यान गुमाउनेमा क्लबमा काम गर्ने कर्मचारीहरूको संख्या धेरै रहेको जानकारी दिए। डीजीपीका अनुसार आगो सबैभन्दा पहिले भुइँ तल्लामा रहेको भान्साबाट क्लबका अन्य भागहरूमा फैलियो। यसै कारणले गर्दा धेरैजसो शव किचन क्षेत्रबाट बरामद भएका छन्। भाग्ने प्रयासका क्रममा दुई जनाको मृत्यु सिँढीमा भएको थियो।

प्रत्यक्षदर्शी फातिमा शेखका अनुसार आगलागी हुँदा क्लबभित्र ठूलो भागदौड मच्चिएको थियो। त्यसबेला क्लबमा सप्ताहन्तको पार्टी चलिरहेको थियो र करिब १०० जना डान्स फ्लोरमा थिए। धुवाँ र आगोको लप्का देख्नेबित्तिकै धेरै मानिसहरू आत्तिएर तलतिर भागे र गल्तीले भुइँ तल्लाको किचन क्षेत्रमा पुगे, जहाँ पहिले नै कर्मचारीहरू थिए।

फातिमाले बाहिर निस्कने बाटो निकै साँघुरो भएकाले मानिसहरू बाहिर निस्कन नसकेको बताइन्। ‘केही मिनेटमै पूरै क्लब आगोको लप्कामा पर्‍यो किनभने त्यहाँ सजिगर्न प्रयोग गरिएको पामका पातहरू तत्कालै जल्यो। धेरै मानिसहरू जसोतसो बाहिर निस्के, तर केही भित्रै फसे,’ उनले भनिन्।

मुख्यमन्त्री प्रमोद सावंतले सामाजिक सञ्जाल ‘एक्स’ मा पोस्ट गर्दै यो दिन गोवाका लागि निकै दुःखद रहेको बताए। उनले पीडित परिवारहरूप्रति समवेदना प्रकट गरेका छन्। सावंतले घटनास्थलको अवलोकन गरिसकेपछि घटनाको विस्तृत अनुसन्धानको आदेश दिएका छन्। अनुसन्धानमा आगलागी कसरी सुरु भयो र त्यहाँ फायर सेफ्टी तथा भवन निर्माणका नियमहरूको सही पालना गरिएको थियो वा थिएन भन्ने कुरा पत्ता लगाइने उनले बताए। उनले यस घटनाका लागि जिम्मेवार जोसुकै भए पनि कानुनबमोजिम कडा कारबाही गरिने र कुनै पनि प्रकारको लापरबाहीलाई सह्य नहुने स्पष्ट पारेका छन्।

गोवाा नाइट क्लबमा 4 नेपालीको गयो ज्यान, शनिवार राति आ,गला,गी हुँदा 25 जनाको गएको थियो ज्यान

प्रतिक्रिया