गोरखा, २१ मङ्सिर २०८२।
उत्तरी गोरखाको रिपुम गुम्बामा आइतबार दिउसो एकबजेतिर आगालागी भएको छ ।
स्थानीय छेवाङ ग्याल्जेन लामाले दिएको जानकारी अनुसार , आगालागीबाट लामा बस्ने तीनतले आवास भवन जलेर नष्ट भएको छ भने सोही भवनको करिब ५० वटा कोठा, त्यहाँ रहेका लत्ताकपडा, भाँडाकुँडा, फर्निचर सबै जलेर नष्ट भएका छन्। त्यहाँ लामासहित ६० जना भिक्षुहरु बस्ने गरेको उनले बताए ।
आगालागीको कारण भने खुल्न सकेको छैन । घटनास्थलमा प्रहरीचौकी सामागाउँ र लार्के प्रहरी चौकी नाम्रुङबाट प्रहरी पुगिसकेको प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए । घटनाको कारण र यसबाट भएको क्षतिको पूर्ण विवरण प्राप्त भइनसकेको उनको भनाइ छ ।
यहाँको रिपुम गुम्बा हजार बर्ष प्राचीन मानिन्छ । जलेको लामाको आवास भवन भने ४० बर्ष पुरानो हो ।