पोखरा १९ मङसीर २०८२।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले वर्तमान सरकारले आगामी फागुन २१ गते घोषणा गरेको संसदीय निर्वाचनलाई बहिस्कार गर्ने निर्णय गरेको छ।
पार्टीका महासचिव सिपि गजुरेलको अध्यक्षतमा गएको मंसीर १६–१७ गतेसम्म चितवनमा सम्पन्न चौथो केन्द्रीय समितिको बैठकले त्यस्तो निर्णय गरेको हो।
पार्टीका महासचिव सिपी गजुरेलले प्रकाशित प्रेस विज्ञप्तिमा विश्व कम्युनिस्ट आन्दोलनमा निर्वाचनको उपयोग र बहिष्कार दुबै हुँदै आएको स्मरण गरिएको छ ।
‘कुनै बेला उपयोग त कुनै बेला बहिष्कारले रणनीतिको सेवा गर्ने हुन्छ । यो स्थितिमा आगामी संसदीय निर्वाचनको बहिष्कार नै सही नीति हुन्छ,’ प्रेस विज्ञप्तिमा भनिएको छ, ‘अतः केन्द्रीय समितिको यो बैठकले निर्वाचन बहिष्कार गर्ने नीति पारित गरी पार्टीको सांगठनिक क्षमताको सापेक्षतामा सत्ता र व्यवस्थाको भण्डाफोर गर्दै निर्वाचन बहिष्कारका कार्यक्रम अगाडि बढाउने निर्णय गरेको छ ।’
आफ्नो पार्टीको आधारभूत कार्यक्रम वैज्ञानिक समाजवाद भएको दाबी गर्दै आगामी निर्वाचनमा पार्टीले लिने कार्यनीतिले रणनीतिलाई अगाडि बढाउन मद्दत गर्नु पर्ने बताएको छ । पार्टीले देशभक्त ,गणतन्त्रवादी क्रान्तिकारी,जनवादी तथा वामपन्थीबीच संयुक्त मोर्चा निर्माण गर्ने र स्वाधिन संयुक्त सरकारको पक्षमा संघर्षलाई अगाडि बढाउने कुरामा जोड दिएको छ ।