पोखरा, १७ मङ्सिर २०८२।
पोखरा सहकारीमा करिब ८९ करोड रुपैयाँ हिनामिना गरेको आरोपमा पक्राउ परेका ८ जना सञ्चालक रकम फिर्ता गर्ने ग्यारेन्टी दिएपछि छुटेका छन्।
कात्तिक १९ गते पक्राउ परेकाहरुले करिब ३१ करोड बराबरको घरजग्गा र चेक बुझाएर ३–४ महिनाभित्र बचतकर्ताको रकम फिर्ता गर्ने प्रतिबद्धता जनाएका हुन्।
प्रहरीले ठगी मुद्दामा १ वर्षसम्म अनुसन्धान गर्न पाउने भए पनि रकम फिर्तालाई प्राथमिकता दिँदै उनीहरूलाई हदम्याद तोकेर छाडेको हो। समयमै रकम फिर्ता भए मुद्दा नचलाइने, नभए पुनः पक्राउ गरिने प्रहरीले जनाएको छ।
सहकारी रजिस्ट्रारको कार्यालयले दिएको वित्तीय प्रतिवेदनपछि पक्राउ परेकामा अध्यक्ष सुरेन्द्रबहादुर गोदार, उपाध्यक्ष शम्भुराज बास्तोला, प्रबन्धक भीष्मप्रसाद गुरुङ सहित ८ जना छन्।
बचत फिर्ता प्रक्रियालाई सहज बनाउन प्रहरी, बचतकर्ता तथा आरोपीहरूबीच समन्वय समिति गठन गरिएको छ। २७ करोडको जग्गा र ४ करोडको चेक सुरक्षणमा राखिएको समितिले जनाएको छ।