काठमाडौं, १६ मङ्सिर २०८२।
ब्रिटेनको क्याम्ब्रिज क्राउन कोर्टले पिटरबरोका ४९ वर्षीय नेपाली नागरिक प्रमोद ढकाललाई सात बालिका र एक महिलामाथि १७ वर्षसम्म यौन दुराचार र बलात्कार गरेको अभियोगमा २५ वर्ष कैद सजाय सुनाएको छ। उनलाई थप आठ वर्ष ‘लाइसेन्स अवधि’अन्तर्गत कानुनी निगरानीमा राखिनेछ।
ढकाल काठमाडौं पुर्ख्यौली घर भएका हुन्। पिटरबरोमा धार्मिक कार्यक्रम सञ्चालन गर्दै आएका उनी समुदायमा ‘विश्वासिलो’ व्यक्तिका रूपमा परिचित थिए। अदालतका अनुसार उनले यही पहुँचको दुरुपयोग गर्दै बालिकाहरूमा सहज पहुँच बनाएका थिए।
अदालतले १३ वर्षमुनिका बालिकामाथि पाँचपटक, १३ वर्षमाथिकामाथि दुईपटक बलात्कारसहित २५ यौन अपराधमा ढकाललाई दोषी ठहर गरेको छ। सबैभन्दा सानो पीडित आठ वर्षकी थिइन्। ढकालले भने सबै आरोप अस्वीकार गरेका थिए।
एक पीडितले ढकाललाई ‘दोस्रो पिता’जस्तै मान्ने गर्थिन् तर आफू पूर्ण असहाय भएको बताइन्। अर्कीले “मात्र म नै पीडित हुँ” भन्ने सोचेको भन्दै ढकालको दुराचारले मानसिक रूपमा क्षति पुगेको उल्लेख गरिन्।
अधिकांश अपराध पिटरबरोमै भए पनि एक पीडितलाई उनी लन्डन लैजाएर दुराचार गरेको अदालतमा खुलेको छ। न्यायाधीश मार्क बिशपका अनुसार ढकालले पीडितलाई दोष दिने व्यवहार देखाए र उनीहरूको जीवनमा भएका उपलब्धिको श्रेय समेत आफूलाई दिन खोजे।
अनुसन्धानकर्ता डिटेक्टिभ कोन्स्टेबल फिलिपा मालेतको कामको न्यायाधीशले प्रशंसा गरेका छन्। उनले यस्ता अपराध ढिलो खुले पनि गम्भीरतापूर्वक लिइने बताए।
पिटरबरो नेपाली समाजका पूर्वअध्यक्षका अनुसार ढकाल समाजको सदस्य नै थिएनन् र कुनै सामाजिक गतिविधिमा सक्रिय पनि थिएनन्। अदालतले उनको अपराधलाई ‘अक्षम्य’ ठहर गर्दै कडा सजाय सुनाएको हो।