काठमाडौं, १६ मङ्सिर २०८२।
काठमाडौंको केशरमहलमा एक कारले ठक्कर दिँदा एकको मृत्यु भएको छ भने अन्य ट्राफिक प्रहरी हवल्दारसहित दुईजना घाइते भएका छन्।
दक्षिण गेटतफृबाट केशरमहलतर्फ जाँदै गरेको बा. प्र.०१–०३० च २३४८ नम्बरको नेटा इभी कार केशरमहल चोकमा अनियन्त्रित भई ट्राफिक प्रहरी र पैदलयात्रीलाई ठक्कर दिएर ड्रिम गार्डेनको पर्खालमा ठोक्किएको थियो । उक्त दुर्घटनामा मृत्यु भएका अन्दाजी ३० वर्षका व्यक्तिको पहिचान खुलिसकेको छैन।
सोही दुर्घटनामा परेर ट्राफिक प्रहरी प्रभाग दरबारमार्गमा कार्यरत ट्राफिक हवल्दार पशुराम ठाकुर र कार चालक काठमाडौं महानगरपालिका–१६ बस्ने ६६ वर्षीय सुरेश राज कालिका घाइते भएका छन्। घाइतेहरूलाई ट्रमा सेन्टर लगिएको र ट्राफिक हवल्दारलाई पछि प्रहरी अस्पताल रेफर गरिएको छ।
घाइतेमध्ये ट्राफिकको दुवै खुट्टा र छातीमा चोट लागेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाह पथका एसपी नरेशराज सुवेदीले बताए ।