पोखरा १३ मङ्सिर २०८२।
नेकपा एमाले कास्की जिल्ला कमिटिले ११ औं महाधिवेशनमा भाग लिने प्रतिनिधि आज छनौट गर्दैछ।
लोकतान्त्रिक पार्टी भनिएको भए पनि प्रतिनिधि छनौटका लागि कुनै निर्वाचन प्रक्रिया हुने छैन। महाधिबेशन प्रतिनिधि सर्वसम्मत तरीकाले छनौट गर्न एमाले कास्कीले जिल्लाबाट प्रतिनिधि खटाएको छ।
सहमतिमा प्रतिनिधि चयन गर्ने गरी प्रतिनिधि छनौट गर्ने गरी एमाले कास्कीले जिल्ला कमिटीकै पदाधिकारीलाई क्षेत्रगत रुपले खटाउने निर्णय गरेको छ। अध्यक्ष बैनबहादुर क्षेत्री र सचिव दर्शन लामाले क्षेत्र नम्बर १ मा सहमति गराउने जिम्मेवारी पाएका छन्। उनीहरु स्वयं पनि प्रतिनिधिका आकांक्षी हुन्।
त्यसो त नेकपा एमाले कास्कीमा पार्टी पोलिटब्युरो सदस्य एबम गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्रि खगराज अधिकारी र पार्टी उपमहासचिव एबम गण्डकी प्रदेशकै पूर्व मुख्यमन्त्रि पृथ्वी सुब्बा गुरुङ पक्षधर गरी दुई समूह छन। अद्यापि केन्द्रीय राजनीतिमा हेर्दा उनीहरु दुवै जना केपी शर्मा ओलीलाई पार्टी अध्यक्षमा दोहोर्याउनु पर्ने पक्षमा देखिएका छन्।
एमाले गण्डकी प्रदेश समितिमा पृथ्वी सुब्बा गुरुङ पक्ष बलियो छन्। तर कास्की जिल्ला कमिटीमा खगराज अधिकारी समूहको एकछत्र राज रहेको छ। त्यसमा पनि नेपालमा फेसबुक लगायतका सामाजिक संजाल बन्द गर्ने निर्णय गराएका तात्कालिन संचार मन्त्री समेत रहेका पृथ्वी सुब्बा गुरुङको त्यस यता कास्कीमा अझै खस्किएको कार्यकर्ताहरुको बुझाई छ।
एमाले कास्कीका सचिव दर्शन लामाका अनुसार अहिले कास्की एमालेमा ११ हजार सात सय ६८ जना संगठित सदस्य छन्। संगठित सदस्य अनुसार क्षेत्रगत रुपले हेर्दा कास्की निर्वाचन क्षेत्र १ बाट चार जना खुला, दुई जना महिला समावेशी र एज जना युवा प्रतिनिधि गरी सात जना, कास्की २ बाट तीन जना खुलासहित ६ जना र कास्की ३ बाट चार जना खुलासहित सात जनाले मात्र महाधिवेशन प्रतिनिधि बन्न पाउने छन्।
उत्पीडित समूहलाई अर्को क्लष्टर तोकिएको र त्यहाँबाट दुई जना प्रतिनिधि हुने व्यवस्था छ। पार्टीका केन्द्रीय सदस्य, अनुशासन आयोग र लेखा आयोगका सदस्यहरु महाधिवेशन आयोजक समितिमै रहेकाले स्वतः प्रतिनिधि हुनेछन्।