पोखरा १२ मङ्सिर २०८२।
राष्ट्रिय युवा संघका केन्द्रीय उपाध्यक्ष विनय शाहले जेनजी युवाहरुसंग माफी मागेका छन्।
राष्ट्रिय युवा संघ सुदूरपश्चिमले बिहीबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय उपाध्यक्ष शाहले प्रदेश युवा जागरणका क्रममा बुधबार धनगढीमा भएको घटना सम्बन्धमा माफी मागेका हुन्।
युवा जागरण अभियानका क्रममा एमाले नेता महेश बस्नेत लगायतका नेताहरूलाई केन्द्रित गरेर प्रदर्शनमा उत्रिएका जेनजी युवा र राष्ट्रिय युवा सङ्घका कार्यकर्ताबिच विवाद र हात हालाहाल भएको थियो। उपाध्याक्ष शाहले उक्त घटनाबारे क्षमा समेत मागेका छन्। उनले अघि भने , ‘बुधबारको घटनामा नयाँ युवाहरूको क्षति प्रति माफी माग्न चाहन्छु । तपाईँहरू मेरो भाइ भाइ बहिनी हो आउनुहोस् राजनीतिमा हामी साथ दिन्छौँ । आउनुहोस् भ्रष्ट्राचार ढालौँ । दल सुदृढ नभए लोकतन्त्र बलियो हुन्छ ’
राष्ट्रिय युवा सङ्घका नेताहरू विमानस्थलबाट कार्यक्रम स्थलमा आउँदा विवाद भएको भन्दै उनले भने, ‘धक्कामुक्का भएको हो । उता एउटा महिला आफै लड्नु भएको हो तर युवा सङ्घले कुटेको भनेर हल्ला गरियो ।’ राष्ट्रिय युवा सङ्घले पूर्व तयारीसहित गरेको कार्यक्रममा बाध पुराउन नआउनु पर्ने भन्दै त्यसबीचमा भएको घटनाप्रति उनले आत्मालोचना गरेका थिए । नेताहरू भ्रष्टाचारबाट चोखो नभएको भन्दै आफूले पनि पटक पटक त्यसको विरोध गरिरहेको उनले बताएका थिए ।
‘नेताहरूले भ्रष्टाचार गर्दै गर्दैनन् भन्दिन । यहीँ धनगढीका होटलहरुमा योजनाको कमिसनमार्फत १० प्रतिशत मागेको कुराको हामीले विरोध जनाएका थियो ’ उनले जेनजी युवाहरूलाई आह्वान गर्दै भने, ‘आउनुहोस् सबै मिलेर भ्रष्टाचार मुक्त देश बनाऊ । ’ जेनजी युवाहरूलाई अरूले बहकाएर आन्दोलनमा उकासेको भन्दै त्यस्ता प्रवृत्तिको सबै विरोध गरिरहने उनको भनाइ थियो । उनले जेनजीको आन्दोलनपछि बनेको सरकार पनि जेनजीको विपक्षमा रहेको तर्क गरे ।
‘कुलमानले आफ्नो कार्यालयमा बोलाएर आन्दोलनमा उक्साइ रहेका थिए । यो सरकार जेनजीको होइन । जेनजी आज काठमाडौँमा लतारिएका छन् ’उनले भने ‘राष्ट्रिय युवा सङ्घ एउटा पुस्ताको विपक्षमा देखिएको जस्तो भएको छ त्यस्तो होइन । हामी पनि भ्रष्टाचार विरुद्धको अभियानमा छौँ । तर, जेनजीको नाममा हुने आपराधिक गतिविधिहरूको विपक्षमा उभिन्छौँ ।’
सातै प्रदेशमा आयोजना गरिएको युवा जागरण अभियान सफल भएको उनले बताए । प्रदेश संयोजक बम शाहीले बुधवारको कार्यक्रमबारे धारणा प्रस्तुत गरेका थिए । ।पत्रकार भेटघाटमा प्रदेश इन्चार्ज भरत मल्ल,सहइञ्चार्ज रोहित कुवर लगायतको उपस्थिति रहेको थियो ।