प्रधानमन्त्री कार्कीले खारेज गरिन् सचिवालयका प्रमुख स्वकीय सचिवकी पत्नीसहित १४ जनाको नियुक्ति

प्रधानमन्त्री कार्कीले खारेज गरिन् सचिवालयका प्रमुख स्वकीय सचिवकी पत्नीसहित १४ जनाको नियुक्ति


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १० मंसिर २०८२
  • 3.2K
    Shares

पोखरा १० मङ्सिर २०८२।

प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो सचिवालय तथा विज्ञ समूहको आकार घटाउने निर्णय गरेकी छिन् ।

जसअनुसार अब मुख्य सल्लाहकार, जनसम्पर्क सल्लाहकार, प्रमुख स्वकीय सचिव, प्रेस संयोजक र स्वकीय शाखा अधिकृत (फोटोग्राफर) र जनस्वास्थ्य विज्ञ (अवैतनिक) गरी ६ जना मात्र कायम राखिने भएको छ । बाँकी सबै पदको नियुक्ति भोलिबाट लागू हुनेगरी खारेज गरेको स्रोतले बताएको छ ।

अब प्रधानमन्त्री कार्कीको सचिवालयमा मुख्य सल्लाहकार अजयभद्र खनाल, जनसम्पर्क सल्लाहकार गोविन्द नारायण तिमिल्सिना, प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठ, प्रेस संयोजक रामबहादुर रावल, स्वकीय शाखा अधिकृत (फोटोग्राफर) केशव थापा र जनस्वास्थ्य विज्ञ (अवैतनिक) डा. मनबहादुर केसी रहनेछन् ।

यसअघि प्रधानमन्त्री कार्कीले २० जना सचिवालय बनाएर काम गरेकी थिइन् । पछिल्लो पटक सचिवालयमा निकटवर्तीहरूलाई नियुक्त दिएको विषय बाहिरिएपछि विवाद भएको थियो । जेनजीहरूसमेतको दबाब बढेपछि प्रधानमन्त्री कार्कीले आफ्नो सचिवालय संख्या घटाएकी हुन् ।

प्रधानमन्त्रीको सल्लाहकार र सचिवालय व्यवस्थापन कार्यविधि, २०७४ (एघारौं संशोधन २०८) बमोजिम प्रधानमन्त्रीको सचिवालयमा विभिन्न पदका कुल ६६ जनाको दरबन्दी कायम छ। यसअघिका सरकारहरूमा प्रायः सबै पदमा नियुक्ति गर्ने प्रचलन थियो।

६६ जनाको दरबन्दीको ठाउँमा हामीले २० जनाको मात्र सचिवालय बनाएर मितव्ययी ढङ्गले कामकाज गर्दै आएकोमा त्यसमा समेत कटौती गरी अझ छरितो बनाइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता सहसचिव हेमराज अर्यालले जनाएका छन्।

हालै प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले सचिवालयमा आफ्नी पत्नी संगीता श्रेष्ठसहित नातेदारलाई नियुक्त गरेको भन्दै विवाद भएको थियो। विवादपछि प्रधानमन्त्री कार्कीले संगीतासहित १४ जनालाई हटाएकी हुन्।

१४ जना को–को हटे ?

प्रमुख स्वीकय सचिव आदर्श श्रेष्ठकी पत्नी संगीता श्रेष्ठलाई सचिवालयबाट हटाइएको छ । उनलाई सहसचिव सरहको स्वकीय सहसचिव बनाइएको थियो । नातेदार कमला श्रेष्ठ पनि हटाइएको छ । उनलाई स्वकीय सहसचिवमा नियुक्त गरिएको थियो । उनीहरू दुवै जना हटेका छन् ।

त्यस्तै, सूचना प्रविधि तथा सञ्चार विज्ञ अरुण कटुवाललाई पनि सचिवालयबाट हटाइएको छ । उनी अधिकृत सरहको सेवा सुविधा लिएर बसेका थिए ।

युवा तथा सामाजिक विकास विज्ञ प्रदिप ज्ञवाली पनि हटेका छन् । ज्ञवाली पनि अधिकृत सरहको सेवा सुविधा लिएर सचिवालयमा कार्यरत थिए । स्वकीय शाखा अधिकृतका रुपमा कार्यरता रमेशराज दाहाल, अर्जित खड्का र आकृति घिमिरेलाई पनि हटाइएको छ ।

त्यसैगरी प्रशासन सहायकहरू सृष्टी डंगोल, पुनम श्रेष्ठ, जुनु कार्की, एन्जलिना कायस्थ र रविना श्रेष्ठ पनि सचिवालयबाट हटाइएका छन् । सवारी चालक हरिबाबु श्रेष्ठ र मिरा अधिकारीलाई पनि हटाइएको हो ।

प्रतिक्रिया