काठमाडौँ, ९ मङ्सिर २०८२।
एउटै आमाबाट २८ सन्तानको जन्म भएको सुन्दा अनौठो लाग्छ अचेल । पछिल्लो पुस्तालाई त झनै बुढापाकाले सुनाउने दन्त्यकथा जस्तो लाग्छ। तर यो इलाम नगरपालिका–६ मा बस्दै आएकी ८३ वर्षीया बच्छीमाया कठेतको जीवनको वास्तविकता हो ।
१५ वर्षको उमेरदेखि कोख रित्तो नभएकी बच्छीमायाले बर्सेनि लगातार २८ सन्तानलाई जन्म दिईन । औसत एक वर्ष १४ दिनमा सुत्केरी भएकी उनले ४७ वर्ष उमेरसम्म सन्तान जन्माईन र ऊ जमानामा दशैं दिइने ‘सन्तानले डाँडाकाँडा ढाकून्’ आशीष लागे जस्तो सन्तान देश-परदेशमा फैलिएका छन् । १४ छोरा र १४ छोरीलाई जन्म दिएकी बच्छीमाया केही महिनायता कान्छा छोराको घरमा छिन ।
चिकित्सा विज्ञानमा लगातार ४७ वर्ष उमेरसम्म बच्चा जन्माउन सम्भव छ ? भन्ने प्रश्नमा वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ प्रा.डा. जागेश्वर गौतमले जुम्ल्याहा, तिम्ल्याहा सन्तानका रूपमा २८ वटा बच्चा जन्माउन सम्भव हुने बताए । प्रा.डा. गौतमले अफ्रिकामा एक महिलाले ३८ वटासम्म बच्चा जन्माएर विश्वको रेकर्ड तोडेको जानकारी दिदै २८ वटा बच्चा जन्माउन सम्भव हुने जानकारी गराए ।