काठमाडौँ ७ मङ्सिर २०८२।
नेसपा (नयाँ शक्ति), प्रगतिशील राष्ट्रिय अभियान, रास्वपा छाडेका सन्तोष परियारसहितको एकता भएर प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गरिएको छ ।
काठमाण्डौको राष्ट्रिय सभा गृहमा आइतबार आयोजित एक समारोहका बीच प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गरिएको हो ।
उक्त पार्टी नेसपा नयाँ शक्तिकी नेतृ दुर्गा सोबको नाममा निर्वाचन आयोगमा दर्ता भइसकेको छ । सात सदस्यीय अध्यक्ष मण्डल रहने त्यस पार्टीमा पूर्वप्रधानमन्त्री डा. भट्टराईले अभिभावकीय भूमिकामा रहने बताइएको छ । पार्टीमा एकसय ५१ जना केन्द्रिय सदस्यहरू रहनेछन् ।
प्रगतिशील समाजवाद मार्गदर्शक सिद्धान्त सो पार्टीको रहेको र त्यसको चुनाव चिन्ह आँखा राखिएको छ । पार्टीको नेतृत्व समावेशी र सामूहिक भावका साथ अघि बढ्ने नेता सन्तोष परियारले बताए ।
कात्तिक २८ गते बाबुराम भट्टराई संरक्षक रहेको नेपाल समाजवादी पार्टी(नयाँ शक्ति), जनार्दन शर्माको नेतृत्वमा रहेको प्रगतिशील राष्ट्रिय अभियान र रास्वपाबाट विद्रोह गरी आएका परियारलगायतबिच एकता गर्ने सहमति भएको थियो ।