मध्यरातमा दुर्गा प्रसाईं समूहले सरकारसंग गर्‍यो आन्दोलन फिर्ता लिने सहमति : आजको बन्द स्थगित

मध्यरातमा दुर्गा प्रसाईं समूहले सरकारसंग गर्‍यो आन्दोलन फिर्ता लिने सहमति : आजको बन्द स्थगित


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ७ मंसिर २०८२
  • 2K
    Shares

काठमाडौँ ७ मङ्सिर २०८२।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले आजदेखि गर्ने भनिएको विरोध प्रदर्शनलगायतका कार्यक्रम फिर्ता लिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्तापछि महाअभियानले विरोध प्रदर्शनलगायतका कार्यक्रम फिर्ता लिएको हो ।

शनिबार राती प्रधानमन्त्री निवास बालुवाटारमा सरकारसंग गरेको वार्तामा वर्तमान शान्ति सुरक्षाको अवस्थालाई समेतलाई ध्यानमा राखी महाअभियानले उठाएका २७ बुँदे मागका सन्दर्भमा विस्तृत छलफल भएको र निरन्तर छलफल, वार्ता तथा सहजीकरण गर्दै जाने सहमति भएको प्राप्त समाचारमा जनाइएको छ।

सरकारसंग भएको सहमतिपत्रमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल र महाअभियानका तर्फबाट सचिव प्रेमदीप लिम्बूले हस्ताक्षर गरेका छन् ।

सो सहमतिलगत्तै महाअभियानले आजदेखि हुनेगरी घोषणा गरेको नेपाल बन्द, अनिश्चितकालीन आमहड्तालका कार्यक्रम फिर्ता लिई शान्तिपूर्ण कार्यक्रममा रुपान्तरण गर्ने सहमति भएको छ । अर्को चरणको वार्ता महअभियानको नेतृत्वसहित यथाशीघ्र गर्ने समझदारीसमेत भएको विज्ञप्तिमा उल्लेख छ ।

दुर्गा प्रसाई समूहको आन्दोलन फिर्ता यस्तो छ सरकारसँग भएको सहमति

प्रेस विज्ञप्ति

सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान नेपालका प्रतिनिधिबीच आज मिति २०८२ मंसिर ६ गते शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा वार्ता भएको छ ।

वार्तामा महाअभियानले उठाएका २७ बुँदे मागहरुका सन्दर्भमा विस्तृत छलफल भएको छ।

छलफलका क्रममा वर्तमान शान्ति सुरक्षाको अवस्थासमेतलाई ध्यानमा राखी नागरिक बचाउ महाभियानले उठाएका जायज मुद्दाहरुको सम्बोधनका लागि सरकारले निरन्तर छलफल, वार्ता र सहजीकरण गर्दै जाने सहमति भएको छ ।

महाभियानले २०८२ मंसिर ७ गतेबाट हुने गरी घोषणा गरेको नेपाल बन्द, अनिश्चितकालीन आम हड्तालका कार्यक्रमलाई फिर्ता लिई शान्तिपूर्ण कार्यक्रममा रुपान्तरण गर्ने सहमति जनाएको छ।

प्रतिक्रिया