पोखरा ५ मङ्सिर २०८२ ।
अमेरिकाबाट निष्काशित थप ३५ जना नेपाली बुधबार काठमाडौं आइपुगेका छन्। चार्टर्ड विमानमार्फत् उनीहरूलाई अमेरिकाबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा झारिएको हो।
अवैध रूपमा बस्दै आएका विदेशी नागरिकप्रति अपनाइएको अमेरिकी प्रशासनको कडाइ, विशेष गरी तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको नीति अनुसार, पछिल्ला वर्षहरूमा धेरै नेपाली अमेरिका प्रवेश निषेधमा परेर फिर्ता पठाइँदै आएका छन्।
मानव बेचबिखन अनुसन्धान ब्यूरोका एसएसपी कृष्ण पंगेनीका अनुसार, फर्काइएकाहरूमा अधिकांश अवैध ’तल्लो बाटो’बाट अमेरिका पुगेका व्यक्तिहरू छन् ।


डिपोर्ट हुनेहरूमा अवैध रूपमा गएका ३३ जना बाहेक, भिसा नवीकरण नगरी काम गरेको पाइएपछि एक जना विद्यार्थी भिसावाहक र भिजिट भिसामा गएर काम गर्न थालेका एक जना पनि रहेको एसएसपी पंगेनीले बताए ।
यसरी अवैध तरिकाले अमेरिका पुग्नका लागि नेपालीहरूले ८० लाख रुपैयाँसम्म तिरेको अनुसन्धानमा पाइएको छ । विभिन्न देश हुँदै अवैध रूपमा छिरेको दुई वर्षपछि पनि अमेरिकाले उनीहरूलाई डिपोर्ट गरेको हो ।
फर्काइएकाहरूमा अधिकांश रुकुम र दाङ क्षेत्रका रहेको प्रहरीले जनाएको छ । प्रहरीले जाहेरी दिन आग्रह गरे पनि उनीहरूले भने मानेका छैनन् ।
अध्यागमनबाट ब्युरोमा, अनि सामान्य सोधपुछपछि रिहा
काठमाडौं आइपुगेपछि ती ३५ जनालाई अध्यागमन विभागले मानव बेचबिखन अनुसन्धान ब्युरोमा पठाएको थियो। ब्युरोले प्राथमिक सोधपुछ गरी सबैलाई छाडिएको एसएसपी कृष्ण पंगेनीले जानकारी दिए।
यसअघि पनि अमेरिकाबाट डिपोर्ट भएर धेरै नेपाली स्वदेश फर्किंदै आएका छन्।