पोखरा, २ मङ्सिर २०८२।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगञ्जबाट नापी कार्यालयका सर्भेक्षक र एक कार्यालय सहयोगीलाई १ लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा नापी कार्यालय, पर्सामा कार्यरत सर्भेक्षक राम प्रमोद राउत र कार्यालय सहयोगी अरुण प्रसाद उपाध्याय रहेका छन्। उनीहरूले छुट जग्गा दर्ता गरिदिने भन्दै सेवाग्राहीसँग विभिन्न बहानामा उक्त रकम माग गरेको आयोगले जनाएको छ।
सेवाग्राहीबाट घुस माग गरेको भन्ने सूचनाका आधारमा अख्तियारको केन्द्रीय कार्यालय, टंगालबाट खटिएको टोलीले उनीहरूलाई सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा वीरगञ्ज महानगरपालिका-३, आदर्शनगरस्थित नापी टोलीको कार्यालयबाटै रकमसहित नियन्त्रणमा लिएको हो।
पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।