पोखरा १ मंसीर २०८२।
जेन जी आन्दोलनका क्रममा वडा प्रहरी कार्यालय बगर पोखरामा आगजनी गर्दै हतियार लुटपाट गरेको आरोपमा पोखराबाट दुई जना युवा समातिएका छन्।
हाल प्रहरीको नियन्त्रणमा रहेका अभियुक्तहरुमा पोखरा महानगरपालिका वडा नं. ५ जिरो कि.मि. बस्ने वर्ष ३१ को श्याम बहादुर तमाङ र पोखरा महानगरपालिका वडा नं. २ बस्ने वर्ष २२ को सागर राउत रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रबक्ता डिएसपी हरि बहादुर बस्नेतले जानकारी दिए।
गएको भदौ २४ गते भएको जेन-जी आन्दोलनको क्रममा प्रहरी कार्यालयहरुमा तोडफोड, आगजनी तथा हातहतियार लुटपाट गर्ने व्यक्तिहरुको पहिचान तथा अनुसन्धान गर्दै जाँदा उनीहरुलाई गत शुक्रबार पक्राउ गरिएको डिएसपी बस्नेतले बताए।
उनीहरुको साथबाट एक राउन्ड गोली, बोल्ट र ट्रिगरको भाग जोडिएको थान-१, काठको बटको भाग थान-१ र मोबाईल थान-२ बरामद भएको प्रहरीले दाबी गरेको छ।
उनीहरुबिरुद्ध कास्की जिल्ला अदालतबाट हातहतियार तथा खरखजना सम्बन्धी कसूरमा पाँच दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।