पोखरा २७ कार्तिक २०८२।
नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले दर्ज्यानी चिन्ह लगाएका छन्।
गृह मन्त्रालयमा आज आयोजित एक समारोहबीच गृह सचिव रामेश्वर दङ्गालले महानिरीक्षक कार्कीलाई दर्ज्यानी चिह्न (फुली) लगाइदिएका हुन्।
सो समारोहमा नवनियुक्त इजीपी दानबहादुर कार्की अमर प्रहरी सम्झिँदै भक्कानिए ।
दर्ज्यानी चिन्ह प्रदानपछि सम्बोधन गर्ने क्रममा वीर गति प्राप्त गरेका अमर प्रहरीलाई सम्झिएर केही बेर स्तब्ध बने । उनकाे गला अवरुद्ध भयो ।
‘महानिरिक्षकको दर्ज्यानी चिन्हबाट सुशोभित हुँदै गर्दा राष्ट्र र नागरिकको सेवाको क्रममा वीर गति प्राप्त गर्नुभएका सम्पूर्ण वीर अमर प्रहरीप्रति श्रद्धान्जली अर्पण गर्दछु । ’
उनले सम्बाेधनकाे क्रममा भने, साथै कर्तव्य पालनको क्रमा वीर गति प्राप्त सम्पूर्ण प्रहरीको अतुलनीय योगदानको स्मरण गर्दै सेवा निवृत हुनुभएका प्रहरीहरुको सहज जीवनयापनको कामना गर्दछु ।
नवनियुक्त आइजीपी कार्कीले नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालस्थित प्रहरी महानिरीक्षकको कार्यकक्षमा पुगेर पद बहाली गरेका छन्।
सोमबारको मन्त्रिपरिषद् बैठकले कार्कीलाई नेपाल प्रहरीको ३३ औं महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो । ३२ औं महानिरीक्षक चन्द्रकुवेर खापुङ बुधबार मध्यरात प्रहरी सेवाको ३० वर्षे अवधि पूरा गरी अनिवार्य अवकाश भएका छन् । नवनियुक्त महानिरीक्षक कार्कीको कार्यकाल २०८४ चैत १८ सम्म छ ।