पोखरा २४ कार्तिक २०८२।
नेपाल प्रहरीको ३३औं प्रहरी महानिरीक्षक (आईजीपी)मा दानबहादुर कार्की नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी महानिरीक्षकमा कार्कीलाई नियुक्त गर्ने निर्णय भएको नेपाल सरकारेअका सरकारका प्रबक्ता सुचना, बिज्ञान तथा प्रबिधि मन्त्री जगदीश खरेलले जानकारी दिए।
कार्की हाल काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी प्रमुख छन्। प्रहरी नियमावलीमा उल्लेख रहेको ३० वर्षे सेवा अवधिका कारण वर्तमान आईजीपी चन्द्रकुवेर खापुङ २६ कात्तिक राति १२ बजेबाट अनिवार्य अवकाशमा जाँदैछन् । त्यसअघि नै आज सरकारले नयाँ महानिरीक्षक नियुक्त गरेको हो । कार्कीले अब २७ कात्तिकबाट प्रहरीको नेतृत्व सम्हाल्नेछन् । विद्यमान प्रहरी नियमावलीमा भएको ३० वर्षे सेवा अवधिका कारण उनी करिब साढे २ वर्ष नेतृत्वमा रहनेछन् । उनले १७ चैत २०८४ सम्म प्रहरीको नेतृत्व सम्हाल्नेछन् ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीमा कार्यरत एआईजी कार्की आईजीपीको पहिलो दाबेदार थिए । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनै कार्कीलाई नेपाल प्रहरीको नेतृत्व सुम्पेको हो ।
संगठनमा उनी इमान्दार प्रहरीको रुपमा चिनिन्छन् ।
कार्कीले राजनीति शास्त्रमा स्नातकोत्तर गरेका छन् । पूर्वी टिमोरमा २ पटक र हाइटीमा १ पटक मिसन गएका छन् । २४ भदौमा जेनजी आन्दोलन हुँदा कार्कीले उपत्यकाको कमाण्ड सम्हालेका थिए ।
२३ भदौ २३ गते भने उपत्यकाको कमाण्ड एआईजीविहीन थियो । उपत्यका कमाण्ड सम्हाल्नुअघि उनी प्रहरी प्रधान कार्यालयस्थित मानव स्रोत विभागको प्रमुख थिए ।
डीआईजी हुँदा भने उनले लुम्बिनी प्रदेशको कमाण्ड सम्हाले । एसएसपीको जिम्मेवारीमा उनले काठमाडौं जिल्ला प्रहरी परिसरको कमाण्ड सम्हाल्दा भुटानी शरणार्थी प्रकरणको मुद्दा चलेको थियो ।
कुनै ठूलो आर्थिक विवादमा नमुछिएका कार्कीसँग फिल्डदेखि आईजीपी सचिवालयसम्म बसेर काम गरेको अनुभव छ । विदेशमा विभिन्न तालिम लिइसकेका उनी नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता समेत भएका थिए ।