काठमाडौं, १७ कार्तिक २०८२ ।
जेन जी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते देशभरि भएका घटनाबारे छानबिन गर्न सरकारद्वारा गठित उच्चस्तरीय जाँचबुझ आयोगले उक्त आन्दोलनका क्रममा काठमाण्डौ उपत्यकाभित्रका प्रहरी युनिटका कमान्डरहरुलाई उपत्यका नछाड्न निर्देशन दिएको छ।
जेन–जी आन्दोलनको क्रममा फिल्डमा खटिएका प्रहरी कर्मचारीहरुको विवरण पटक-पटक माग गर्दा पनि नपठाएको भन्दै छानबिन आयोगले आइतबार प्रमुख प्रहरी कमाण्डरहरूलाई स्थानहद (क्षेत्र नछाड्ने आदेश) जारी गरेको हो।
आयोगले प्रहरी प्रधान कार्यालयलाई बारम्बार पत्राचार गरेर आन्दोलनका बेला ड्युटीमा रहेका जवानदेखि अतिरिक्त महानिरीक्षक (एआईजी) तहका कर्मचारीहरूको सूची मागेको थियो। तर, प्रधान कार्यालयले “जवानदेखि एआईजीसम्म खटिएका थिए” भन्ने सामान्य विवरण मात्र दिएको र नाम उल्लेख नगरेकाले आयोगले कमाण्डरहरूलाई प्रत्यक्ष स्थानहद आदेश जारी गरेको हो। आदेशअनुसार, ती अधिकारीहरू आयोगको अनुसन्धान पूरा नभएसम्म उपत्यका क्षेत्र छोड्न पाउने छैनन्।
आयोगका स्रोतका अनुसार रवि लामिछानेलाई जेलबाट निकाल्ने घटना, प्रहरी कार्यालयहरूबाट लुटिएका हातहतियार, ड्युटीमा रहेका प्रहरीलाई कार्यालय छाड्न निर्देशन दिने विषयमा आयोगले प्रारम्भिक अनुसन्धान पूरा गरिसकेको छ। अनुसन्धानपछि सम्बन्धित प्रहरी कमाण्डरहरूलाई बयानका लागि बोलाउनुपर्ने भएकाले स्थानहद आदेश जारी गरिएको हो।
स्थानहदमा परेकामध्ये उपत्यका प्रहरी प्रमुख एआईजी दानबहादुर कार्की, तत्कालीन डीआईजी ओमबहादुर राना, एसएसपी दीपसमशेर जबरा, ट्राफिक प्रमुख नवराज अधिकारी, एसपी सुरेश काफ्ले, काठमाडौं प्रमुख एसएसपी विश्व अधिकारी, ललितपुर प्रमुख एसएसपी श्यामकृष्ण अधिकारी, एसपी माधव बुढाथोकी लगायत रहेका छन्। साथै, विभिन्न वृत्तका डीएसपीहरू — जयश्वर रिमाल (बौद्ध), सुकदेव खनाल (गौशाला), राजकुमार श्रेष्ठ (दरबारमार्ग), ज्ञानबहादुर विष्ट (बालाजु), कृष्णकुमार चन्द (जनसेवा), रमेशकुमार पाल (जगाते), रामकुमार यादव (सातदोबाटो) र उद्धवसिंह भाट (स्वयंभु) समेत उपत्यका छाड्न नपाउने सूचिमा परेका छन्।
आयोगका अनुसार केही अधिकारीहरू हाल उपत्यकाबाहिर सरुवा भएर गएका छन्। तीमध्ये डीआईजी ओमबहादुर राना सुदूरपश्चिम प्रहरी प्रमुखको रूपमा धनगढीमा कार्यरत छन्। आयोगले उनलाई पनि तत्काल काठमाडौं झिकाउन प्रहरी महानिरीक्षकको सचिवालयलाई निर्देशन दिइसकेको छ।
नेपाल प्रहरीले जेन–जी आन्दोलनमा खटिएका आफ्ना सम्पूर्ण कर्मचारीको विवरण दिन नमानेकाे भन्दै उक्त घटनाको जाँचबुझ गर्न बनेको आयोगले मुख्य–मुख्य कमाण्डरलाई आइतबार स्थानहद तोकेको छ । त्यसमध्येका केही प्रहरी कमाण्डरको बयान सोमबारदेखि शुरु भएको छ ।
यसअघि आयोगले कतिपय कमाण्डरको कल डिटेल्स रेकर्ड (सीडीआर) को अध्याय र विश्लेषण गरेको थियो । रास्वपा सभापति रवि लामिछानेलाई जेलबाट निकाल्ने घटना, विभिन्न प्रहरी कार्यालयबाट लुटिएका हातहतियार र ड्युटीमा रहेका प्रहरीलाई कार्यालय छाडेर भाग्न निर्देशन दिएको विषयमा आयोगले आफ्नोतर्फको अनुसन्धान सिध्याएको छ । अनुसन्धानपछि सम्बन्धित प्रहरी कमाण्डरलाई बयानमा बोलाउनुपर्ने कारण आइतबार स्थानहद जारी गरिएको हो । उक्त आदेश आयोगले उनीहरूमाथिको अनुसन्धान निष्कर्षमा नपुग्दासम्म जारी रहने आयोग स्रोतले जनायो ।
को–को प्रभावित छन् ?
उक्त आदेशअनुसार काठमाडौं उपत्यका छाड्न नपाउनेमा उपत्यका प्रहरी प्रमुख एआईजी दानबहादुर कार्की, २३ गतेका निमित्त प्रमुख डीआईजी ओमबहादुर राना, एसएसपी दीपसमशेर जबरा, उपत्यका ट्राफिक प्रमुख नवराज अधिकारी, सर्वोच्च अदालत सुरक्षा इकाईका प्रमुख एसपी सुरेश काफ्ले, काठमाडौं प्रमुख एसएसपी विश्व अधिकारी, फिल्ड कमाण्डर डीएसपी सुन्दर तिवारी, ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारी, अपरेशन कमाण्डर डीएसपी हेमन्त भण्डारी क्षेत्री, भक्तपुरका एसपी माधव बुढाथोकी, अपरेशन कमाण्डर डीएसपी ढुण्डीराज न्यौपाने, संसद भवन कमाण्डर डीएसपी एलिजा गिरी, नगर प्रहरी प्रमुख मन्जिल मुकारुङ छन् ।
त्यस्तै वृत्तका डीएसपीमध्ये बौद्धका जयश्वर रिमाल, गौशालाका सुकदेव खनाल, दरबारमार्गका राजकुमार श्रेष्ठ, बालाजुका ज्ञानबहादुर विष्ट, जनसेवाका कृष्णकुमार चन्द, जगातेका रमेशकुमार पाल, सातदोबाटोका रामकुमार यादव, स्वयंभुका उद्धवसिंह भाट, कीर्तिपुरका राजबाबु महर्जन, चापागाउँका यमकुमार श्रेष्ठले उपत्यका छोड्न नपाउने भएका छन् ।
महाराजगन्जका डीएसपी निरन्जन थापा तालिमका क्रममा अमेरिकामा थिए । निमित्त प्रमुख इन्स्पेक्टर सुदर्शन पन्थीका हकमा स्थानहद लागु हुने आयोगस्रोतले जनाएको छ । कालिमाटी, ठिमी र लैनचौर प्रहरी वृत्तले हातहतियार जोगाएका कारण त्यहाँका डीएसपी स्थानहदमा परे पनि कडाइ नगरिएको आयोग स्रोतले बतायो । जिल्ला प्रहरी परिसर भद्रकाली, मालीगाउँ वृत्त तोडफोडमा जोगिएका थिए । प्रभाग इञ्चार्ज रहेका केही इन्स्पेक्टर, वरिष्ठ सई र सईहरु पनि उपत्यका छोड्न नपाउनेमा परेका छन् ।
यसअघि नै उपत्यकाबाहिर गएका ती कमाण्डरलाई तत्काल काठमाडौं झिकाउन आयोगले प्रहरी महानिरीक्षकको सचिवालयलाई निर्देशन दिइसकेको स्रोतले जनायो । त्यसमध्ये डीआईजी राना सुदूरपश्चिम प्रहरी प्रमुखका रुपमा धनगढीमा छन् । एक अर्को विवादको विषयमा छानबिन गर्न पनि उनलाई काठमाडौं तानिने भएको छ ।
सरुवा र विभिन्न कारणले उपत्यका बाहिर गएका अन्य तत्कालीन इञ्चार्ज पनि फिर्ता आइरहेको आयोग स्रोतले जनायो ।