पोखरा, १५ कार्तिक २०८२ ।
अन्तत: पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको नेतृत्वमा चार वर्षअघि नेकपा एमालेसँग विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टी बिभाजित भएको छ।
पार्टी अध्यक्ष समेत रहेका नेपालको नेतृत्वमा माओवादीसहितका शक्तिहरूसँग पार्टी एकता गर्ने निर्णय भए संगै पार्टीका बरिष्ठ नेता पूर्व प्रधानमन्त्री झलनाथ खनालले पार्टी पुनर्गठन गर्ने घोषणा गरेका छन्।
शुक्रबार सम्पन्न केन्द्रीय कमिटी बैठकले अध्यक्ष माधवकुमार नेपालद्वारा प्रस्तुत नेकपा (माओवादी केन्द्र)सहितका दलसँग एकता गर्ने प्रस्ताव बहुमतले पारित गरेपछि खनालले पार्टी पुनर्गठन गर्ने घोषणा गरे । नेता खनालले अध्यक्ष नेपालले एमालेबाट विद्रोह गरेर बनाएको पार्टीलाई अन्ततः माओवादीमा लगेर ’विसर्जन’ गरेको आरोप लगाए ।
पार्टीभित्रको अन्तरसंघर्ष हल नहुँदै माओवादी सहितका दलहरुसँग एकता गर्ने माधव नेपालको निर्णयलाई अस्वीकार गर्ने पक्षधर नेताहरु पनि ठूलै संख्यामा रहेको दावी गरिएको छ ।
‘यथास्थितिमा माओवादीसँग मिसन हुन्न भन्नेहरु केन्द्रीय कमिटीमा झण्डै डेढ सय जना जति छौं, अब कतिले कस्तो निर्णय लिन्छन् भन्ने हेर्न बाँकी छ,’ खनाल निकट एक नेता भन्छन् । तर बहुमत भने माधव नेपालसँगै हुने उनी स्वीकार्छन् । ‘पहिले पनि बहुमतमै हुनुहुन्थ्यो । अझ यही बैठकमा ८० जना थप्नुभएको छ,’ उनी भन्छन्, ‘संख्याको के कुरा भयो र ?’
यो पक्षको दाबी अनुसार सम्मानित नेता खनाल, वरिष्ठ नेता घनेन्द्र बस्नेत, महासचिव भूसालसहित डा.बिजय पौडेल, जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, वंशीधर मिश्र, अमरबहादुर थापा, किसान श्रेष्ठ, दामोदर अर्याल, अशेष घिमिरे, आरती लामा, हिरेन्द्र शाही, अर्जुन राईले प्रष्ट रुपमा पुनर्गठनको अडान लिएका छन् ।
यो सूचीमा धर्मराज निरौला, विजय चौधरी, केदारप्रसाद सञ्जेल, प्रेमल खनाल, शंकर पोखरेल, शेरबहादुर केसी, केशरी रेग्मी, शिव भण्डारी, अब्दुल हुसेन खाँ, प्रभा बज्राचार्य लगायत छन् ।
‘यही पार्टी बनाउनुपर्छ भन्नेहरु अझ धेरै संख्यामा छन् । जनप्रतिनिधि भएकाले कतिपयले चाहेर पनि खुल्न सक्नु भएको छैन,’ एक नेता भन्छन् । कानुनी रुपमा प्रतिनिधि पद जाने भएकाले पनि अध्यक्ष नेपालको निर्णय स्वीकार्न बाध्य भएकाहरुले कुनै न कुनै रुपमा पार्टी पुनर्गठनलाई साथ दिने ती नेता बताउँछन् ।
‘प्रष्ट सैद्धान्तिक खाका सार्वजनिक नगरी भीड जम्मा गर्न एकता भनिदैछ,’ उनी भन्छन्, ‘जेनजी विद्रोहपछि हामी सवभन्दा धेरै प्रष्ट हुनुपर्ने भनेकै सैद्धान्तिक कुरामा हो । भ्रष्टाचार नगर्ने पार्टी कसरी बन्छ भन्ने विषयमा हो, पार्टीलाई कसरी पुनर्गठन गर्छौ भनेर जनतालाई विश्वास दिलाउनेमा हो ।’ तर नेताहरुको संकट टार्नलाई माधव नेपालले एकताको नाममा पार्टी विभाजन गरेको उनको आरोप छ ।
पार्टी विभाजन हुँदा माधव नेपाललाई साथ दिने निचोडमा पुगेकी उपाध्यक्ष जयन्ती राई भने एकता आवश्यकता समेत रहेको तर्क गर्छिन् । ‘यसलाई वाम एकताको आधारमा रुपमा हेर्नुपर्छ । भोलि एमालेसम्म एकता गर्ने जग यसले बनाउँछ,’ उनी भन्छिन्, ‘मेरो आग्रह छ– अझै समय छ, पार्टी विभाजन नगरौं ।’
धुम्बाराहीमा तीन दिन चलेको केन्द्रीय कमिटी बैठकमा पूर्वप्रधानमन्त्री एवं पार्टीका सम्मानित नेता झलनाथ खनाल, वरिष्ठ नेता घनेन्द्र बस्नेत, महासचिव घनश्याम भूसाल लगायतले यथास्थितिमा एकता गर्न नसकिने अडान लिएका थिए ।
पदाधिकारी बाहेक एकसय २३ जनाले बोलेको केन्द्रीय कमिटी बैठकमा पनि मतभेद देखिएको थियो । वरिष्ठ नेता वेदुराम भुसालले माओवादी केन्द्र, महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी, विप्लव नेतृत्वका नेकपाबाट फुटेको चरन पुन, प्रेमबहादुर सिंह समूह, राजु कार्की नेतृत्वको नेकपा समाजवादी र सुभाषराज काफ्ले नेतृत्वको जनसमाजवादी पार्टी नेपालबीच एकता गर्ने गृहकार्य चलिरहेको ब्रिफिङ गरेका थिए ।
यही प्रस्तावमा केन्द्रीत रहेर नेताहरुले धारणा राखे । ‘यथास्थितिमा एकता गर्नु हुँदैन भन्ने एउटा हिस्सा उभियो, तर धेरैले एकतामा जानुपर्ने राय राखे,’ एक पोलिटब्यूरो सदस्य भन्छन् । एकताको प्रस्तावमा मुख्य असहमति पूर्वप्रधानमन्त्री खनाल र महासचिव भूसालले राखेका थिए ।
दुवैले एकता संख्या बढाउनलाई मात्र गरिन नहुने विश्लेषण सुनाएका थिए । तर यसअघि जस्तो भिन्न मत राख्नेहरुबीच अध्यक्ष नेपालले सहमतिको प्रयत्न गरेनन् । एकैपटक अथवा रातारात एकताको निर्णय नभएकाले धेरै व्याख्याको आवश्यकता नपर्ने निष्कर्ष उनले सुनाए ।