पोखरा,१२ कात्तिक २०८२।
सर्वोच्च अदालतले संसद् विघटनविरुद्धको रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहितको संवैधानिक इजलासले प्रारम्भिक सुनुवाइ गर्दै प्रतिनिधिसभा पुर्नस्थापनाको पक्षमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो। साथै सोहि इजलाशले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी भने गरिदिएको छ।
सर्वोच्च अदालतले आदेशमा भनेको छ, ‘अन्तरिम आदेश माग गरेको विषयवस्तु समेत रिट निवेदनको अन्तिम सुनुवाइ हुँदा विचार गर्नुपर्ने प्रकृतिको देखिँदा हाल निवेदन मागदाबी बमोजिम अन्तरिम आदेश जारी गरिरहनु परेन ।’
सर्वोच्च अदालतले सुशीला कार्कीको नेतृत्वमा सरकार गठन, उनकै सिफारिसमा प्रतिनिधिसभा विघटन लगायतका विषयमा आफ्नो जवाफ पेश गर्न सरोकारवाला निकायहरूलाई आदेश दिएको छ ।
राष्ट्रपति कार्यालय, प्रधानमन्त्री सुशीला कार्की, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सभामुख लगायतलाई रिट निवेदनमा विपक्षी बनाइएको छ । सर्वोच्च अदालतले उनीहरूलाई पत्र पाएको एक साताभित्र जवाफ दिनु भनेको छ ।
सर्वोच्च अदालतको यो आदेशपछि अदालत प्रशासनले तामेल्दारको सहयोगमा विपक्षी बनाइएका सबै निकाय र पदाधिकारीहरूलाई म्यादसहित आदेशको प्रति बुझाउनुपर्नेछ । उनीहरूले एक साताभित्र लिखित जवाफ पेश गर्नुपर्नेछ ।
त्यसपछि बल्ल अदालतले मुद्दाको थप प्रक्रिया अघि बढाउने बाटो खुल्नेछ । कतिपय कानुन व्यवसायीहरूले नयाँ सरकार गठन र प्रतिनिधिसभा विघटनको फाइल पनि राष्ट्रपति कार्यालयबाट झिकाउन माग गरेका थिए । सर्वोच्चले अहिले ती कागजात झिकाएको छैन । फेरि ती कागजात झिकाउनु पर्दा मुद्दाको प्रक्रिया थप लम्बिनेछ ।
राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २७ गते प्रधानमन्त्रीमा सुशीला कार्कीलाई गरेको नियुक्ति र उनकै सिफारिसमा गरिएको प्रतिनिधिसभा विघटन बदर गर्न माग गर्दै १६ वटा रिट सर्वोच्च अदालतमा दर्ता भएका थिए । ती रिटमाथि प्रधानन्यायाधीश राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरि फुयाँल र मनोज शर्माको इजलासमा सुनुवाइ भएको हो ।