कास्कीको रुपा गाउपालिका घर भएका प्रहरी सहायक हवल्दार गुरुङको हत्या आरोपी कारागार चलान

कास्कीको रुपा गाउपालिका घर भएका प्रहरी सहायक हवल्दार गुरुङको हत्या आरोपी कारागार चलान


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १२ कार्तिक २०८२
  • 10.4K
    Shares

पोखरा,१२ कात्तिक २०८२।

कास्की जिल्लाको रुपा गाउँपालिका वडा नम्बर ५ घर भएका प्रहरी सहायक हवल्दार ३१ वर्षीय अमृत गुरुङको हत्या आरोप लागेका एक जना कारागार चलान भएका छन्।

काठमाडौँको कोटेश्वर प्रभागमा कार्यरत सहायक हवल्दार गुरुङको जेनजी आन्दोलनका क्रममा गएको भदौ २४ गते भएको हत्या आरोप लागेका कैलालीको लम्कीचुहा नगरपालिका ४ अमरपुरका १९ वर्षीय अनुपम भण्डारी कारागार चलान भएका हुन्।

जिल्ला अदालत काठमाडौँले भण्डारीलाई थुनामा पठाउन आदेश दिएका कारण कारागार चलान गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए।

गुरुङलाई आन्दोलनकारीले ढुंगामुढा तथा फलामको रड र चक्कुले प्रहार गरेर सडकमा घिसार्दै अचेत र रगताम्मे अवस्थामा सडकमै फालिदिएका थिए। स्थानीयले उनलाई उपचारका लागि बीएण्डबी अस्पताल ग्वार्कोमा लगे पनि सोही दिन दिउँसो पौने ५ बजेतिर उनको मृत्यु भएको अस्पतालले जानकारी गराएको थियो।

निषेधाज्ञाको समयमा ड्युटीमा खटिएका आफ्ना श्रीमानको हत्यामा संलग्नलाई पक्राउ गरी कानुनी कारबाहीको माग गर्दै उनकी पत्नी कान्ती गुरुङले जाहेरी दिएकी थिइन्।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भण्डारीलाई कैलालीबाटै पक्राउ गरेर ल्याएको थियो। इलाका प्रहरी कार्यालय लम्कीको सहयोगमा असोज १३ गते पक्राउ परेका भण्डारीले हत्यामा आफ्नो संलग्नता स्वीकार गर्दै बयान दिएका थिए।

यसअघि महाराजगञ्ज बृत्तका दुई प्रहरीको हत्या आरोपमा चार जना कारागार चलान भइसकेका छन्। प्रहरीले थप व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार