किष्ट अस्पतालमा तनाव : मृतकका आफन्तद्वारा अस्पताल तोडफोड , प्रहरीले गर्यो लाठीचार्ज

किष्ट अस्पतालमा तनाव : मृतकका आफन्तद्वारा अस्पताल तोडफोड , प्रहरीले गर्यो लाठीचार्ज


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १० कार्तिक २०८२
  • 3.8K
    Shares

पोखरा,१० कात्तिक २०८२।
बिरामीको मृत्युलाई लिएर किष्ट अस्पतालमा तनाव भएको छ । मृतकका आफन्तले प्रहरी घेरा तोडेर अस्पताल तोडफोड गरेका छन्। प्रहरीले बल प्रयोग गरेर भीड तितरबितर पारेको छ ।

गर्भवतीको मृत्यु भएको विषयलाई लिएर ललितपुरको किष्ट अस्पताल तनावग्रस्त छ । अहिले प्रहरीले अस्पताललाई घेरा हालेर सुरक्षा दिइरहेको छ भने अस्पताल प्रशासनले मृतकका आफन्तलाई वार्तामा बोलाइसकेको छ ।

यही बेला एउटा समूह जेनजी हौँ भन्दै मृतकको आफन्तको प्रदर्शनमा मिसिएको छ । मृतकका आफन्तहरूले नै यो कुरा बताएका छन् । अस्पतालबाहिर तेज वान्तावा राईले खिचेको भिडियोमा मृतकका आफन्तहरूले जेनजीको नाममा केही युवा मिसिएर प्रदर्शन भड्काउन खोजेकोप्रति चिन्ता जनाएका छन् ।

युवाहरूको एक समूह ‘वार्ता टोली हुन्छ, प्रहरीले दमन नगरिदिनुहोला, हाम्रो पछाडि जेनजी पुस्ताहरू पनि हुनुहुन्छ’ भनेर माइकिङ गर्दै मृतकका आफन्त भएठाउँ पुगेको थियो । मृतकका आफन्तहरूले भने आफूहरूको आन्दोलन शान्तिपूर्ण धर्ना मात्र भएको बताइरहेका छन् ।

जेनजी हौँ भनेर माइकिङ गर्दै मृतकका आफन्तको आन्दोलनमा मिसिन खोजेको समूहलाई प्रहरीले लखेटेको छ । यो देखेर मृतकका आफन्त भनिरहेका छन्, ‘शान्तिपूर्ण धर्ना भनिराको छ, प्रहरीले कसलाई लखेटेको ?’

अर्का एकजना जवाफ दिँदै भन्दैछन्, ‘तिनीहरू हाम्रो मान्छे होइन । जेनजीको नाममा यहाँको ट्यापेहरू हुन् क्या ।’

मृतकका आफन्तले ‘तिनीहरू हाम्रो मान्छे होइन, तिनीहरूको पछाडि कोही नजानुहोला, फर्किहाल्नोस्’ भन्दै आव्हानसमेत गर्नुपरेको थियो ।

मृतकका आफन्तहरू यो समूह कसको हो, किन आएको भनेर आपसमा कुरा गरिरहेको तेज वान्तावा राईको भिडियोमा देख्न सकिन्छ । ‘माइकिङ गर्दै आएको भाइहरू हाम्रो खोटाङको टिमभन्दा फरक रहेछ, केही बुझ्न सकिएन, जेनजी पुस्ता भन्दै माइकिङ गर्दै थिए । हामी त पीडित हौँ, हामी न्यायको माग गरिरहेका छौँ । नचिनिएकाहरू मिसिएको भन्ने बुझियो’, मृतकका तर्फबाट वार्ताको तयारी गरिरहेका खोटाङका एक ज्येष्ठ नागरिकले यस्तो भनिरहेको भिडियोमा सुनिन्छ ।

खोटाङका केही अगुवा र मृतकका आफन्तहरू वार्तामा जाने तयारीमा छन् । अस्पताल र चिकित्सकको लापरबाहीका कारण आफ्नो मान्छेको मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पतालमा तोडफोड नै गरेका थिए । स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । प्रहरीमाथि समेत ढुंगा र इँटा प्रहार भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार