पोखरा, ३ असार २०८१/
कुकुरको बच्चालाई कुट्दै जिउँदै खाल्डोमा पुरेको आरोपमा तीन जनालाई प्रहरीले इलामबाट पक्राउ गरेको छ । उक्त आरोपमा इलामको देउमाइ नगरपालिका वडा नम्बर ९ का २१ वर्षीय दिक्षान्त मोरोहाङ लिम्बु, सोही ठाउँका वर्ष १७ का संगम लिम्बु र वर्ष १७ कै अशोक लिम्बुलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।
पशु कल्याण संघ काठमाडौंले दिएको जाहेरीको आधारमा उनीहरुलाई इलामको देउमाई नगरपालिकाको जितपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
भिडियो बनाउने हेतुले ती युवकहरुले कुकुरको बच्चालाई तड्पाई–तड्पाई हत्या गरेको भिडियो भाइरल भएको थियो । उक्त भिडियोमा एउटा कुकुरको बच्चालाई तीन-चार जना केटा साथीहरूको समूहले कुकुरलाई घेरा हालेको देखिन्छ र धेरै चोटि लट्ठीले हिर्काई सास फेर्दै गर्दा गाडेको देखिएको छ।
उक्त समुहले कुकुरलाई नाकमा लाठीले हान्दा कुकुरलाई धेरै पीडा भएको देखिन्छ। तिनीहरूले कुकुरलाई राम्रो देखाउने बहानामा सुम्सुमाएको जस्तो गर्छन्, तर चर्को रूपमा हिर्काउँछन् । त्यसपछि भर्खरै खनेको खाल्डोमा लडाइदिन्छन् । कुकुर छट्पटाउँछ । उनीहरूले कुकुरलार्ई जिउँदै पुरिदिन्छन् ।
उक्त दुखद भिडियो शुक्रबार इन्टरनेटमा (फेसबुक एकाउन्ट) धेरै फैलिएको थियो तर अहिले हटाइएको छ।