पोखरा, ४ पुष २०८०/
ओखलढुङ्गामा ७७ बर्षिया बृद्धाको लुटपाट पछि हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्रउ गरेको छ। ओखलढुङ्गाको मोलुङ गाउँपालिका वडा नं. ५ प्राप्चाकी ७७ बर्षिया बृद्धा बालमाया सुनुवारको लुटपाट पछि हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो।
उक्त घटनामा संलग्न रहेको आरोपमा मोलुङ गाउँपालिका वडा नं. ३ का २५ बर्षिया मान बहादुर भुजेल, वडा नं. ५ प्राप्चाका १९ बर्षका टुक बहादुर कटवाल र सोही ठाउँका १६ बर्षका एक किशोरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी नायव उपरीक्षक दिपक केसीले जानकारी दिए ।
प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरुले बृद्धा महिलालाई टाउकामा ढुङ्गाले हिर्काएर बेहोस बनाएपछि नाक, कान, घाँटीमा लगाएको सुन तथा चाँदीको माला, पैसा समेत लिई निदालमा प्लाष्टिकको डोरीले बाधेर झुण्ड्याई फरार भएको स्विकार गरेको प्रहरीले जनाएको छ ।
उनीहरूविरुद्ध बुधबार जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान शुरु गरिएको प्रमुख प्रहरी नायव उपरीक्षक केसीले बताए ।
गत मंशिर ३० गते साँझ बृद्धा सुनुवारको हत्या गरी उनीहरु फरार भएका थिए । बृद्धा महिला घर भित्र निदालमा डोरीको पासोमा झुण्डिरहेको अबस्थामा शनिवार मात्र स्थानीयले फेला पारेका थिए । बृद्धा डोरीमा झुण्डिरहेको र शरीरका विभिन्न स्थानमा चोट लागेको तथा घर बाहिरबाट चुक्कुल लगाएको अवस्थामा फेला पारेपछि बृद्धाको हत्या भएको स्थानीय र प्रहरीले आशंका गरेको थिए ।