गत पुस २७ गते ५० वर्षीय थानलिङडु गुरुङलाई हत्या गरेको आरोपमा जिल्ला अदालतले शुक्रबार दुई जनालाई पुर्पक्षको लागि थुनामा पठाएको छ । अन्य ११ जनालाई धरौटीमा छाड्ने आदेश दिएको छ ।
जिल्ला न्यायाधीश रमेशकान्त अधिकारीको एकल इजलासमा अदालती बयान बन्दबस्तको ११८९२० बमोजिम हत्या आरोपी आरुचौर गाविस ४ चिप्लेटीका २० वर्षीय सञ्जय भनिने तिलकबहादुर विक र ४८ वर्षीय शोभाखर विकलाई थुनामा पठाएको हो । त्यसगरी ११८ को दफा ५९३० को १० अनुसार ४१ वर्षीय शेरबहादुर विक, २१ वर्षीय सुर, २१ कै विशाल, २३ वर्षीय बिजय, १९ वर्षीय पीताम्बर, ३९ वर्षीय राजु भनिने हर्कबहादुर, १७ वर्षीय सरोज, २८ वर्षीय उमाकान्त, २० वर्षीय दुर्गे, २७ वर्षीय कृष्णबहादुर र ३६ वर्षीया लक्ष्मी विकलाई प्रतिव्यक्ति ३० हजार रुपैयाँ धरौटीमा छुटाइएको अदालतका श्रेस्तेदार मोहन अधिकारीले बताए ।
चिप्लेटीको दलीतबस्तीमा १३ जनाको संलग्नतामा जडिबुटी बेच्दै हिँडेका मुस्ताङका गुरुङलाई हत्या गरी खाल्डोमा गाडिएको र गाउँ छिमेकको हल्ला हुन थालेपछि उनको शव घटनास्थलबाट ६ घण्टाको पैदल दूरी लाग्ने अर्जुनचौपारी गाविस ५ स्थित भट्टे पथान सामुदायिक वनको कोचेप्रोमा लगी गाडिएको अवस्थामा भेटाइएको थियो । पहिलै शव गाडिएको ठाउँमा ५ महिनाको भैँसीको पाडो मारी गाडिएको प्रहरीले सार्वजानिक गरेको थियो ।
गुरुङको चक्कु प्रयोग गरी हत्या गरिएको जिल्ला न्यायधिवक्ता धर्मराज पौडेलले बताए । गत पुस २७ गते स्थानीय शोभाखर विकको घरमा बास बसेको र शोभाखरको भतिज सञ्जयसँग झगडा हुँदाहुँदै हात हालाहाल भएपश्चात् सञ्जयले हँसिया प्रयोग गरी हत्या गरेको खुल्न आएको पौडेलले बताए । गुरुङको साथबाट दुईवटा सुनको औंठी, चार हजार नगद, झोला, केही जडिबुटी, लत्ताकपडा लगायत बरामद भएको सामान आफन्तलाई बुझाइएको प्रहरीले बताएको छ ।