चितवन, २५ कार्तिक २०८३ ।
स्याङ्जाका एक युवाले चितवनमा आफ्नै श्रीमतीको कुटेर हत्या गरेका छन्।
भरतपुर महानगरपालिका-४ त्रिचोकस्थित डेरामा बस्दै आएका स्याङ्जा चापाकोट गाउँपालिका-६ घर भएका अन्दाजी ३० वर्षीय सुमन राना मगरले आज आफ्नै ३२ वर्षीया श्रीमती सपना राना मगरलाई कुटेर हत्या गरेका हुन्।
प्रहरीका अनुसार बिहान करिब साढे ८ बजे घरायसी विवादका कारण मगरले आफ्नै ३२ वर्षीया श्रीमती सपनालाई कोठामै कुटपिट गरेका थिए। कुटपिटबाट सपनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापछि कुटपिटमा संलग्न रहेको आरोपमा मगरलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।