दशैंको रातिदेखि बेपत्ता प्रख्यात तिहारमा सुनकोशीमा मृत भेटिए

दशैंको रातिदेखि बेपत्ता प्रख्यात तिहारमा सुनकोशीमा मृत भेटिए


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २६ कार्तिक २०८३
  • 1.5K
    Shares

खोटाङ, २५ कार्तिक २०८३ ।

दशैंको रातिदेखि बेपत्ता भएका ओखलढुंगाका एक युवा तिहारमा सुनकोशी नदीमा मृत भेटिएका छन्।

गत कात्तिक ४ गते परेको दशैंको टीकाको रातिदेखि बेपत्ता भएका ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–३ उँबुका २२ वर्षीय प्रख्यात राई आज तिहारको भाइटीकाका दिन सुनकोशी नदीमा मृत भेटिएका हुन्।

सांस्कृतिक कार्यक्रममा जाने भन्दै घरबाट निस्किएका राई आज खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारस्थित सुनकोशी नदीको राजदह नजिकै बालुङमारीमा मृत भेटिएका हुन् ।

प्रहरीका अनुसार , स्थानीयले नदी किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाएलगत्तै प्रहरी चौकी च्यास्मीटारबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । उँबुबाट रातारात बालुङमारी पुगेका आफन्तले शवको पहिचान गरेको मानेभञ्ज्याङ गाउँपालिका कांग्रेस सभापति हुकुमसिं राईले बताए ।

प्रख्यातको खोजीका लागि सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन बेस क्याम्प खुर्कोटबाट गोताखोरसहितको टोली तथा हर्कपुरस्थित मनसुन प्रतिकार्य अस्थायी सुरक्षा बेसको टोली परिचालन गरिएको थियो । तर, उनीहरूको खोजी गरिएको क्षेत्रभन्दा तल्लो भागमा शव फेला परेको हो ।

मानेभञ्ज्याङ गाउँपालिका–६ जाक्पामा आयोजना गरिएको सांस्कृतिक कार्यक्रममा जाने भन्दै प्रख्यात कात्तिक ४ गते राति साढे ९ बजे घरबाट निस्किएका थिए । तर, उनी कार्यक्रममा नपुगेको स्थानीयले बताएका छन् ।

बाहुनीडाँडाकी एक युवतीलाई भेट्न जयरामको पुरानो झोलुङ्गे पुलमा पुगेको खुलेको उनका बुवा प्रकाशहरी क्याम्पा राईले बताए । उनका अनुसार प्रख्यातले पुलमा पुगेर भेट्नका लागि अर्की युवतीलाई मेसेजमार्फत खबर पठाएका थिए । राति १ बजेर ४३ मिनेटसम्म मेसेन्जरमा सन्देश पठाएको देखिएको र त्यसपछि उनी सम्पर्कविहीन बनेको बुवा राईले बताए ।


मानेभञ्ज्याङ गाउँपालिका–६ र हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको सीमामा पर्ने दूधकोसीस्थित जयराम आसपासबाट उनी सम्पर्कविहीन भएका थिए।आफन्तले घटनालाई शंकास्पद मान्दै आएका छन् । घटनाको सत्यतथ्य पत्ता लगाई दोषीलाई कारबाही गर्नुपर्ने उनीहरूको माग छ । शव ओखलढुंगा लगेर पोस्टमार्टम गर्ने तयारी गरिएको छ । समाचार छोटो, छरितो र प्रस्ट रुपमा पुनर्लेखन गरिदेउ

प्रतिक्रिया
सम्बन्धित समाचार