सुरुङ खनेर डोल्पा कारागारबाट भागेका आठमध्ये दुई जना रुकुमबाट फेरि पक्राउ

सुरुङ खनेर डोल्पा कारागारबाट भागेका आठमध्ये दुई जना रुकुमबाट फेरि पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १८ कार्तिक २०८३
  • 190
    Shares

डोल्पा, १७ कार्तिक २०८३।

शुक्रबार राति सुरुङ खनेर डोल्पा जिल्ला कारागारबाट भागेका आठ जना कैदीबन्दीमध्ये दुई जनालाई प्रहरीले पुनः पक्राउ गरेको छ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी सन्तोषसिंह राठौरका अनुसार पक्राउ पर्नेमा जबर्जस्ती करणी मुद्दाका कैदीहरू रुकुम पश्चिम आठबिसकोट नगरपालिका-१० का ३२ वर्षीय रामबहादुर विक र सल्यान कुमाख गाउँपालिका-५ का २८ वर्षीय रेशम राना रहेका छन्।

खोली बगरबाट वडा नं. ९ राडीतर्फ आउँदै गरेको क.प्र. ०२-००१ च ०८३१ नम्बरको डबल क्याब बोलेरो जिपमा सवार उनीहरूलाई मंगलबार बिहान साढे १० बजेतिर आठबिसकोट नगरपालिका-६ दामाचौरबाट पक्राउ गरिएको प्रहरीले बताएको छ।

प्रहरीले गाडी चेकजाँच गर्ने क्रममा उनीहरु भाग्न खोजेपछि ड्युटीमा रहेका प्रहरीले पहिचान गरेपश्चात पक्राउ गरिएको प्रहरीको दाबी छ। उनीहरूलाई नियन्त्रणमा लिई प्रहरी चौकी गोतामकोटमा राखिएको छ। राठौरका अनुसार चौरजहारी बेस क्याम्प रुकुम पश्चिम र प्रहरी चौकी गोतामकोटबाट प्रहरी सहायक निरीक्षक बुद्धिराम वलीको कमान्डमा ५ जनाको टोली खोजतलासमा खटिएको थियो।

अन्य ६ जना फरार कैदीबन्दीको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार