काठमाडौं , १६ कार्तिक २०८३।
जापानका लागि नेपालको राजदूतमा सिफारिस भएका जिज्ञानकुमार थापाले आफ्नो नाम फिर्ता लिएका छन्।
संसदीय सुनुवाइ समितिमा सुनुवाइ प्रक्रिया जारी रहेकै बेला सोमबार उनले नाम फिर्ता लिने निर्णय गरेका हुन्।
थापाले समितिका सभापतिलाई पत्र लेख्दै जापानसँग जोडिएको स्वार्थ बाझिन सक्ने (कन्फ्लिक्ट अफ इन्ट्रेस्ट) विषयमा थप अध्ययन र स्पष्टताका लागि सुनुवाइ जारी रहेको अवस्थामा नाम फिर्ता लिएको जानकारी गराएका छन्।
उनले लोकतान्त्रिक मूल्य, सुशासन र संसदीय गरिमालाई कदर गर्दै कुनै पनि पदभन्दा राष्ट्रिय हित, नैतिक निष्ठा र पारदर्शिता माथि हुने विश्वासका साथ नाम फिर्ता लिएको बताएका छन्।
पत्रमा उनले भनेका छन्, ‘देश र जनताका सेवाका लागि पद नै अन्तिम माध्यम होइन। आगामी दिनहरूमा पनि राष्ट्रिय हित, विकास र समृद्धिका लागि नेपाल सरकारले सुम्पिने जुनसुकै जिम्मेवारी निष्ठाका साथ बहन गर्न सदैव तत्पर रहनेछु।’
साथै उनले आफूलाई सिफारिस गरी विश्वास व्यक्त गरेकोमा नेपाल सरकार र सुनुवाइ प्रक्रियामा सहयोग गर्ने समितिका सभापति र सदस्यहरूप्रति आभार व्यक्त गरेका छन्।