काठमाडौं , १६ कार्तिक २०८३।
प्रतिपक्षी दलहरूले यथाशीघ्र संसद बैठक आह्वान गर्न सरकारसँग माग गरेका छन्।
नेपाली कांग्रेसको आह्वानमा सोमबार सिंहदरबारमा बसेको प्रतिपक्षी दलहरूको बैठकले यस्तो माग गर्ने निर्णय गरेको कांग्रेस संसदीय दलका नेता भिष्मराज आङ्देम्बेले जानकारी दिए।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता आङ्देम्बेले न्यायालयमा विचौलियाको प्रभाव र प्रहरीसँग जोडिएर प्रधानमन्त्रीको नाम मुछिएका विषयमा संसदमा गम्भीर छलफल आवश्यक रहेको बताए।
उनले भने, ‘न्यायालयसँग विचौलियाको साँठगाँठ लगायतका विषय गम्भीर छन्। यस्ता विषय सतहमा चर्चा गर्नुभन्दा संस्थागत रुपमा संसदबाटै समाधान खोज्नुपर्छ। त्यसका लागि तुरुन्त संसद बैठक बोलाउन माग गरेका छौं।’
सरकारले हरेक कुरा अध्यादेशमार्फत चलाउन खोज्दा संसदको औचित्य र गरिमामाथि नै प्रश्न उठेको उनको टिप्पणी थियो।
त्यस्तै रसुवाको भोटेकोसी बाढीबाट विस्थापितले राहत र घरभाडा समेत नपाएको गुनासो आएको र सुनसरी, कप्तानगञ्ज लगायतका घटनाबारे गठित समितिको प्रतिवेदन सार्वजनिक नभएको भन्दै यी विषयमा पनि संसदमा छलफल हुनुपर्ने उनले बताए।
बैठकले सरकार एकलौटी ढंगले चल्न खोजेको निष्कर्ष निकालेको पनि आङ्देम्बेले जानकारी दिए।