डोल्पामा प्रहरी चौकी तोडफोड, स्थानीय युवासहित चार जना प्रहरी बेपत्ता

डोल्पामा प्रहरी चौकी तोडफोड, स्थानीय युवासहित चार जना प्रहरी बेपत्ता


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २० पुष २०८२
  • 8.8K
    Shares

काठमाडौँ, २० पुष २०८२।

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-५ मा स्थानीय बासिन्दाले इलाका प्रहरी कार्यालय खदाङ तोडफोड गरिदिएका छन्।

प्रहरीका अनुसार शुक्रबार साँझ लागुऔषधको ओसारपसारमा संलग्न रहेको आशंकामा ल्हाँ गाउँका ३४ वर्षीय स्थानीय युवा जुन रोकायलाई चेकजाँच गर्न खोज्दा भेरी नदीमा फाम फालेर बेपत्ता भएका थिए। उक्त विषयलाई लिएर स्थानीयहरुले शुक्रबार बेलुकादेखिनै प्रहरी कार्यालय घेरेर विरोध जनाएका थिए। 

त्रिपुरासुन्दरी नगरपालिका-५ मा पर्ने इलाका प्रहरी कार्यालय खदाङ्ग र सोही वडामा पर्ने ल्हाँ गाउँका स्थानीयबीच शनिबार दिउँसोदेखि त्यही बिषयमा विवाद भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ। 

जिप्रका डोल्पाका सूचना अधिकारी तथा इन्स्पेक्टर टोपेन्द्र बुढा मगरले शनिबार दिउँसो ३ बजेबाट स्थानीय र प्रहरीबीच विवाद हुँदा प्रहरी र स्थानीयहरु घाइते भएको जानकारी दिए। 

उनकाअनुसार इलाका प्रहरी कार्यालय खदाङ्गमा असईको नेतृत्वमा ११ जना प्रहरी रहेका थिए। दोहोरो विवादले उग्ररूप लिएपछि आक्रोशित ल्हाका स्थानीयले चौकी तोडफोड गरेका छन्। चौकीमा खटिएका दश जना प्रहरीमध्ये तीन जना घाइते भएको र एक स्थानीय युवासहित चार जना प्रहरी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक रुकबहादुर खड्काले जानकारी दिए ।

अहिले पनि सशस्त्र प्रहरी र नेपाल प्रहरीका विभिन्न युनिटबाट ठूलो सङ्ख्यामा प्रहरीहरु घटनास्थलमा परिचालन गरिएको छ । यता स्थानीयले भने प्रहरीका कारण रोकाय बेपत्ता भएको भन्दै यथाशीघ्र सकुशल ल्याउन माग गरेका छन् ।

लागूऔषध कारोबार हुँदैछ भन्ने सूचना प्रहरीले एक साताअघि नै पाएपछि दुई/तीन दिनदेखि प्रहरीलाई सादा पोसाकमा घटनास्थलमा खटाइएको स्रोतले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार