पोखरा, १० पुष २०८२।
काठमाण्डौको ठमेलस्थित वाल्डो क्यासिनोमा अवैध रूपमा जुवा खेलाउने भारतीय गिरोहका ६ जना पक्राउ परेका छन्ला।
पक्राउ पर्नेहरूमा भारतीय क्यासिनो इभेन्ट गिरोहका नाइके सुरेश महाजनसहित प्रमोद मोरिया, दिनेश वर्मा, विक्रम सिंह, चिजा खड्का र भवानी पाण्डे रहेका जिल्ला प्रहरी परिसर काठमाण्डौका सूचना अधिकारी एसपी पवनकुमार भट्टराईले जानकारी दिए।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले भारतबाट आएको गिरोहले क्यासिनो इभेन्ट गर्ने बहानामा अत्याधुनिक प्रविधि प्रयोग गरी ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए ।
प्रहरीका अनुसार उनीहरूले तासमा चिप जडान गर्नुका साथै आँखामा आईलेन्स लगाएर क्यासिनो खेल्ने/खेलाउने गरेको पाइएको छ । क्यासिनोमा छापा मार्ने क्रममा जुवा खेल्न प्रयोग भएका तास, सेन्सर जडित उपकरण, लेन्सलगायत सामग्री बरामद भएको एसपी भट्टराईले बताए । तासमा चिप जडान गर्ने र आँखामा ‘आइ लेन्स’ लगाएर खेलको नतिजा पहिल्यै थाहा पाउने गरी योजनाबद्ध रूपमा ठगी गरिएको प्रहरीको दाबी छ।
यो समूहले नेपाल, भारत, श्रीलङ्का, भियतनाम र कम्बोडिया लगायत देशहरूमा क्यासिनो इभेन्टका नाममा अवैध जुवा खेलाउँदै आएको पाइएको छ । जुवा खेलाउन मङ्सिर २५ गते ७० जना नेपाल आएका थिए भने त्यसमा सामेल हुन झन्डै दुई सय जना भारतबाट नेपाल आएको खुलेको प्रहरीले जनाएको छ ।
जुवा खेल्न आउनेहरूका लागि हवाई टिकटदेखि खाना र बसोबासको सम्पूर्ण व्यवस्था जुवा खेलाउने समूहले नै गरेको थियो । जुवामा हुन्डीमार्फत कारोबार हुने तथ्य समेत प्रहरीले फेला पारेको छ ।




