पोखरा महानगरका मेयर आचार्यको घर तथा धनसम्पत्तिमा आगजनी एबम तोडफोड गर्ने रास्वपाका नेता सहित चार जना कारागार चलान

पोखरा महानगरका मेयर आचार्यको घर तथा धनसम्पत्तिमा आगजनी एबम तोडफोड गर्ने रास्वपाका नेता सहित चार जना कारागार चलान


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १५ मंसिर २०८२
  • 11.6K
    Shares

राष्ट्रिय स्वतन्त्र पार्टीका वडा सभापतिसहित चार जना कास्की जिल्ला कारागार चलान भएका छन्।

जेन जी आन्दोलनका क्रममा पोखरा महानगरका मेयर धनराज आचार्यको घर लगायतका विभिन्न धनसम्पत्तिमा भएका आगजनी तथा तोडफोडमा संलग्न रहेको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका पोखरा महानगरपालिका वडा नम्बर १० का सभापति चन्द्रबहादुर थापासहित चार जना कास्की जिल्ला अदालतको आदेश बमोजिम पुर्पक्षमा रहने गरी कास्की जिल्ला कारागार चलान भएका हुन्।

जिल्ला न्यायाधिश हिमलाल बेल्बासेको आजको इजलाशले आपराधिक उपद्रव तथा डाँका चोरी मुद्दामा रास्वपा नेता थापासहित चार जनालाई पुर्पक्षमा रहने गरी थुनामा पठाउन आदेश दिएको थियो। थापासहित एक जना नाबालक, पोखरा १७ की बिना मल्ल भनिने बिमला सापकोटा, पोखरा ९ का बुद्ध खवास ठकुरी भन्ने चीनबहादुर खवास पनि पुर्पक्षमा रहने गरी कास्की जिल्ला कारागार चलान भएका छन्।

जेनजी आन्दोलनको दोस्रो दिन भदौ २४ गते मेयर धनराज आचार्यको पोखराको नयाँबजारस्थित निजी घर, महानगरको स्वामित्वमा रहेको सरकारी गाडीमा आगजनी तथा तोडफोड र लुटपाट भएको थियो ।मेयर आचार्यले चोरी, तोडफोड र आगजनी गर्नेविरुद्ध फोटो, भिडियोसहित किटानी जाहेरी दिएका थिए । जसमध्ये प्रहरीले पांच जनालाई पक्राउ गरी अनुसन्धान गरेको थियो ।

पोखराका मेयर धनराजको घरमा तोडफोड, आगजनी र लुटपाट गरेको अभियोगमा एकै परिवारका दाजुभाइ नै पक्राउ परेका थिए । रास्वपाको वडा सभापतिसमेत रहेका चन्द्रबहादुर पुर्पक्षका लागि थुनामा जाँदा भाइ खलि भन्ने हरिबहादुर थापा धरौटीमा रिहा भएका छन् ।

चन्द्रबहादुरसहित चार जनालाई पुर्पक्षका लागि थुनामा पठाउँदा भाइ खली भनिने हरिबहादुरसँग अदालतले दुई लाख रुपैयाँ धरौटी मागेको हो । मेयर आचार्यको घरभित्र रहेका सामान जलाउनेदेखि लुटपाटसम्म गरेको उनीहरूलाई अभियोग थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार