उच्चस्तरीय जाँचबुझ आयोगको पत्रप्रति नेपाली सेनाको असन्तुष्टि, मागेको विवरण र बयान दुवै नदिने

उच्चस्तरीय जाँचबुझ आयोगको पत्रप्रति नेपाली सेनाको असन्तुष्टि, मागेको विवरण र बयान दुवै नदिने


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ८ मंसिर २०८२
  • 5.2K
    Shares

काठमाडौँ, ८ मङ्सिर २०८२।

जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गतेका घटनाहरूको छानबिन गर्न गठन गरिएको आयोग र नेपाली सेनाबीच पत्राचारलाई लिएर विवाद देखिएको छ। पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले नेपाल प्रहरी, सशस्त्र प्रहरी जस्ता सुरक्षाकर्मीसँगै सेनालाई पनि सोही समयमा खटिएका फौजको विवरण उपलब्ध गराउन पत्राचार गरेको थियो।
तर, नेपाली सेनाले सो अनुरोधप्रति असन्तुष्टि जनाएको छ। सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार, सेनाको परिचालन चेन अफ कमान्डअनुसार मात्र हुन्छ र व्यक्तिगत रूपमा सेनाका सदस्यहरू खटिँदैनन्। उनले भने, “हामी चेन अफ कमान्डको संरचनाअनुसार मात्र काम गर्छौं।”
आयोगका अध्यक्ष कार्कीले भने, आन्दोलनको समयमा सिंहदरबार लगायत भीभीआईपी सुरक्षामा खटिएका सेनाको विवरण माग गरिएको थियो, तर आवश्यक विवरण सेनाबाट प्राप्त नभएको बताए। उच्च अधिकारीले आयोगलाई सो विवरण नपठाइने स्पष्ट पारे। उनका अनुसार, “सेना अन्तिम सुरक्षा शक्ति हो, र सेनालाई कानुन लागू गर्ने अधिकार छैन। गृह प्रशासन मातहत प्रहरी र सशस्त्र प्रहरी मात्रै आवश्यक विवरण दिन्छन्।”
सेना छुट्टै सैनिक ऐन अनुसार परिचालित हुने र बयान दिनुपरेमा मात्र आफ्नै कानुन अनुसार प्रक्रिया हुने उल्लेख गरिएको छ। सेना स्थानीय प्रशासन ऐनअनुसार जिल्ला सुरक्षा समितिको अनुरोधमा मात्रै परिचालित हुन्छ।
जेनजी आन्दोलनको पहिलो दिन, नयाँ बानेश्वर क्षेत्रमा प्रशासनले कर्फ्यु जारी गरे पनि आन्दोलनकारीले पछि नहटेपछि गोली चलाइएको थियो। त्यस दिन कम्तीमा १९ जनाको मृत्यु र सयौँ घाइते भएको रिपोर्ट छ। २४ गते पनि विभिन्न स्थानमा हिंसा, आगजनी र लुटपाट जारी रह्यो। सेनाले १९० जनालाई सुरक्षा दिएको दाबी गरेको छ, जसमा प्रधानमन्त्री, मन्त्री र परिवारसहित ६१ जनालाई हेलिकप्टरमार्फत उद्धार गरिएको थियो।
त्यसै रातिबाट देशभरको सुरक्षा जिम्मेवारी नेपाली सेनाले लिएको र आन्दोलनमा संलग्नलाई नियन्त्रण गर्दै नयाँ सरकार गठनमा मध्यस्थता गरेको थियो। प्रधानसेनापति अशोकराज सिग्देलले विभिन्न समूहसँग वार्ता गरी राष्ट्रपतिसँग छलफल गरेपछि नयाँ सरकार गठन प्रक्रिया अघि बढेको थियो।
आयोगले तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री र प्रहरी प्रमुखसहित विभिन्न सरकारी अधिकारीहरूका पासपोर्ट रोक्का गर्दै बयान लिन थालेको छ। यसैक्रममा नक्खु कारागारका जेलर र थुनामा रहेका पूर्वमन्त्री रवि लामिछानेसँग पनि बयान लिइएको छ। आन्दोलनपछि देशका २८ कारागारबाट १५ हजारभन्दा बढी कैदी फरार भएका थिए, तीमध्ये अझै पाँच हजार फरार छन्।
नेपाल प्रहरी र सशस्त्र प्रहरीका कमान्डरहरूको बयान लिइरहेको आयोगले सेनासँग पनि सोही तरिकाले पत्राचार गरेको थियो, तर सेनाले विवरण उपलब्ध गराउने वा आयोगमा उपस्थित हुने विषयमा नकारात्मक प्रतिक्रिया जनाएको छ। साभार नेपालखबर

प्रतिक्रिया
सम्बन्धित समाचार