पोखरा र लेखनाथ जोड्ने बिजयपुर खोला पुल निर्माणका लागि पृथ्वीराजमार्ग आजदेखि दैनिक चार घण्टा बन्द हुने : बैकल्पिक बाटो प्रयोग गर्न अपिल

पोखरा र लेखनाथ जोड्ने बिजयपुर खोला पुल निर्माणका लागि पृथ्वीराजमार्ग आजदेखि दैनिक चार घण्टा बन्द हुने : बैकल्पिक बाटो प्रयोग गर्न अपिल


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ६ मंसिर २०८२
  • 6.7K
    Shares

विजयपुर खोला पुल


पोखरा ६ मङ्सिर २०८२।

पोखरा र लेखनाथ जोड्ने बिजयपुर खोला पुल निर्माणका लागि पृथ्वीराजमार्ग आजदेखि दैनिक चार घण्टा बन्द हुने भएको छ।

पोखराको विजयपुरखोलामा निर्माणाधीन पुलको ‘ग्रीडर लन्चिङ’कार्य शुरु गर्न आजदेखि आउने मङ्सिर ११ गतेसम्म दैनिक चार घण्टा पृथ्वी राजमार्ग बन्द हुने मुग्लिन–पोखरा सडक योजना पश्चिम खण्डले जनाएको छ । उक्त अवधिमा त्यस क्षेत्रमा वैकल्पिक सडक प्रयोग गर्न पनि सडक आयोजनाले अपिल गरेको छ ।

मुग्लिन–पोखरा सडक योजना पश्चिम खण्डले एक सार्वजनिक सुचना जारी गरेर विहान ०६ बजेदेखि ८ बजेसम्म र दिउसो १२ बजेदेखी २ बजेसम्म सडक बन्द हुने जानकारी दिएको छ ।

योजना प्रमुख कृष्णबहादुर कुँबरले उक्त सार्वजनिक सूचनामार्फत दैनिक चार घण्टा सडक पूर्ण÷आंशिक रूपमा बन्द रहने भएकाले पृथ्वी राजमार्ग हुँदै पोखरा भित्रिने र बाहिरिने सवारी साधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेका छन्।
उनले अवस्था हेरी प्रत्येक ३० मिनेटमा लाइन लागेका ट्राफिकलाई क्लियर गर्न सकिनेसमेत जानकारी दिएका छन् ।

उज्त सुचनामा “पोखरादेखि विजयपुर हुँदै तालचोक जाने र सोही रुट हुँदै आउने सवारी साधनलाई पूर्ण रूपमा बन्द गरी काम गर्नुपर्ने भएकाले ट्राफिक व्यवस्थापनका लागि सम्बन्धित सबैमा आग्रह गरेका छौँ । सवारी चालकलाई तोकिएको समयमा वैकल्पिक सडक हुँदै यात्रा गर्न अनुरोध गरिएको छ ।” भनिएको छ।

मुग्लिन–पोखरा सडक योजनाले दुई पाङ्ग्रे तथा साना सवारी साधनका लागि बुढीबजारबाट बेलचौतारा हुँदै चाउथे आउने र जाने दुईतर्फी वैकल्पिक व्यवस्था गरिएको जनाएको छ ।

यसैगरी ठूला सवारीका लागि लेखनाको पावरहाउसचोकदेखि बागमारा हुँदै बिरौट आउने÷जाने दुई तर्फी रुट प्रयोग गर्न आग्रह गरिएको छ ।

देशको पर्यटकीय राजधानी पोखरालाई सङ्घीय राजधानी काठमाडौँसम्म जोड्ने प्रमुख सडक पृथ्वीराजमार्ग स्तरोन्नतिका लागि मुग्लिङ–पोखरा सडक योजना अन्तरगत काम भइरहेको छ ।

मुग्लिङ–पोखरा सडकलाई दुई खण्डमा विभाजन गरी योजनाको काम भइरहेको हो । जामुनेदेखी आँबुखैरेनीसम्मको पूर्वी खण्डमा अधिकाँस काम सकिएपनि पोखरादेखी जामुनेसम्मको पश्चिम खण्डमा हालसम्म ५९ दशमलव ७६ प्रतिशत भौतिक प्रगति भएको योजना प्रमुख कुँबरले जानकारी दिए ।

यस खण्डको ३८ दशमलव ८८ किमीमा हालसम्म ३७ दशमलव चार किमीमा एकतर्फी रूपमा पहिलो तहको कालोपत्र सकिएको छ । त्यसमध्ये २९ दशमलव ६१ किमी खण्डमा चार लेन र सात दशमलव ७९ किमीमा दुई लेन कालोपत्र सम्पन्न भएको छ ।

यसैगरी यस खण्डमा १२ मध्ये ११ पुल निर्माण सम्पन्न भइसकेका जनाउँदै आयोजना प्रमुख कुँवरले सेती नदीमा पुल निर्माणाधीन अवस्थामा रहेको जानकारी दिए ।

प्रतिक्रिया