पोखरा १ मंसीर २०८२।
नेपाल ट्रस्टको जग्गा भाडामा दिने निर्णयमा संलग्न भएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पूर्वसचिव अर्जुनबहादुर कार्कीलाई पक्राउ गरेको छ ।
नेपाल ट्रष्टको काठमाडौँ महानगरपालिका १ दरबारमार्गमा रहेको जग्गा भाडामा दिने निर्णयमा संलग्न रहेको आरोपमा दोलखाको जिरी नगरपालिका ६ घर भई नेपाल ट्रष्टको कार्यालयका तत्कालिन सचिव अर्जुनबहादुर कार्कीलाई पक्राउ गरिएको नेपाल प्रहरीको सीआईबीका प्रबक्ता एसएसपी शिवकुमार श्रेष्ठलेले जानकारी दिए।
नेपाल ट्रस्टको नाममा काठमाण्डौको दरबारमार्गमा रहेको कित्ता नम्बर ४६०६ को जग्गा भन्दा बढी अर्को कित्ता ४६०५ समेत थप गरी भाडामा दिने निर्णय भएको सीआईबीको दाबी छ।
निर्माण अवधि तीन वर्षसहित ३० वर्षको लागि भाडामा दिने सम्झौता गर्दा नेपाल ट्रष्टको कार्यालयलाई दिर्घकालिन हानी नोक्सानी पुर्याइएको पनि जिकिर गरिएको छ।
२०७४ जेठ १४ गते करार सम्झौता भएको थियो। विभिन्न ओहदा र पदमा रहेका व्यक्तिहरूले गैर कानुनी तवरले लाभ लिई ठगी, आपराधिक विश्वासघात गरेको आरोपमा सीआईबीले अनुसन्धान गरिरहेको छ।
यसअघि कात्तिक २१ गते सहसचिव लेखबहादुर कार्कीलाई पक्राउ गरेको थियो। अनुसन्धानका क्रममा पूर्व सचिव कार्कीको समेत संलग्नता खुलेकाले पक्राउ गरेर अनुसन्धान गरेको सीआईबी प्रवक्ता श्रेष्ठले बताए।