पोखरा २५ कार्तिक २०८२।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) का नेता अभिमन्यु पाण्डे पक्राउ पर्नुको कारण बारे बुझ्न जिल्ला प्रहरी कार्यालय कास्की पुगेका राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य अर्जुन खनाल पनि पक्राउ परेका छन्।
पृथ्वीचोकमा रहेको शहीद लखन थापाको शालिक फुटाउनेसँगै व्यवसायी थापा परिवारको घरमा आगजनी गर्नेसम्मको भूमिका रहेको आरोपमा मंगलबार बिहान पक्राउ परेका रास्वपाका नेता पाण्डेका बारे बुझ्न जिल्ला प्रहरी कार्यालय कास्की पुगेका राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदाय खनाललाई पनि प्रहरीले पक्राउ गरेको हो।
पाण्डेको विषयमा बुझ्न जिल्ला प्रहरी कार्यालय जाँदा प्रहरीले ‘तपाईँ विरुद्ध पनि उजुरी छ’ भन्दै खनाललाई नियन्त्रणमा लिएको समाचार स्रोतहरुले जानकारी दिएका छन्।
उनीहरुबिरुद्ध जेन–जी आन्दोलनका क्रममा आगजनी तथा तोडफोडमा संलग्न भएको आरोप लगाइएको प्राप्त समाचारमा जनाइएको छ ।
आन्दोलनमा ठूलो भौतिक क्षति व्यहोरेका गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री तथा काँग्रेस नेता विन्दु कुमार थापाको जाहेरीका कारण राप्रपाका नेता खनाल पक्राउ परेको भन्दै राप्रपाका अर्का युवा केन्द्रीय सदस्य अरुण गिरीले सामाजिक सञ्जालमा विरोध गरेका छन् ।
रास्वपाका पाण्डेमाथि पोखरामा माइकिङ गर्दै विभिन्न व्यक्तिको घर तोडफोडका निम्ति अपिल गरेको आरोप लागेको छ ।
पृथ्वीचोकमा रहेको शहीद लखन थापाको शालिक फुटाउनेसँगै व्यवसायी थापा परिवारको घरमा आगजनी गर्नेसम्मको भूमिकामा उनी सक्रिय रहेको कास्की प्रहरी बताउँछ । पक्राउ परेकाहरु आन्दोलनमा संग्लग्न भएको तस्वीर, भिडियोसहितका प्रमाण संकलन गरेको प्रहरीले जनाएको छ ।