काठमाण्डौ, २४ कात्तिक २०८२।
मधेश प्रदेशकी प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोमबार बिहान नेकपा एमालेका संसदीय दलका नेता सरोज यादवलाई सिन्धुलीको एक होटलमा मुख्यमन्त्रीको पदमा शपथ ग्रहण गराएकी छिन् ।
प्रदेश प्रमुख भण्डारीले संविधानको धारा १६८ (३) बमोजिम यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेर सपथ गराएकी हुन् ।
एमाले दल नेता यादवलाई मुख्यमन्त्रीमा सपथ गराएर प्रदेश प्रमुख भण्डारी भने काठमाडौं लागेकी छन्।
पूर्वमुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार (सोनल) का अनुसार बर्दिबास र सिन्धुलीको सिमाना स्थित एक होटलमा नियुक्तिपत्र प्रदान गरेर उनी काठमाडौं प्रस्थान गरेकी छन्। भण्डारीले आफू अस्वस्थ भएको कारण दिएकी छन्।
पूर्वमुख्यमन्त्री सोनलले मधेस प्रदेशका जनताप्रति धोका भएको प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जाल फेसबुकमा मुख्यमन्त्री नियुक्त हुँदै गरेको भिडियो सहित उनले लेखेका छन् ।
‘मधेश प्रदेशको जनतासँग धोका भयो। स्वास्थ उपचारको नाममा निस्केकी मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सिन्धुली र महोत्तरीको सिमानाको एउटा होटेलमा प्रदेशको अस्मितालाई समाप्त पार्ने खेल गरिन्।’
निवर्तमान मुख्यमन्त्री सोनलले नै प्रदेश प्रमुख भण्डारीलाई जनकपुरबाट बिदाइ गरेका थिए ।