नयाँ र वैकल्पिक राजनीतिक शक्ति निर्माणका विषयमा औपचारिक छलफल शुरु

नयाँ र वैकल्पिक राजनीतिक शक्ति निर्माणका विषयमा औपचारिक छलफल शुरु


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २० कार्तिक २०८२
  • 6.7K
    Shares

डा. बाबुराम भट्टराई, जनार्दन शर्मा, सुमना श्रेष्ठ सम्मिलित बैठक

काठमाडौँ, २० कात्तिक २०८२।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको सक्रिय पहलमा नयाँ र वैकल्पिक राजनीतिक शक्ति निर्माणका विषयमा औपचारिक छलफल शुरु भएको छ। बदलिँदो राजनीतिक अवस्था, जेन-जी आन्दोलनपछि देखा परेको जनभावना र तत्कालीन राजनीतिक संरचनाको पुनर्गठन आवश्यकताका आधारमा यो संवाद अघि बढाइएको बताइएको छ।

छलफलमा पूर्व माओवादी नेता जनार्दन शर्मा, सुदन किराँती, राष्ट्रिय स्वतन्त्र पार्टी छाडेकी नेतृ सुमना श्रेष्ठ, रास्वपाका उपसभापति डीपी अर्याललगायत विभिन्न समूह र अभियन्ताहरू सहभागी रहेका छन्।

उक्त बैठकमा पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नेता डा. बाबुराम भट्टराईले जेजनी अगुवाहरूलाई राजनीति गर्दा धेरै कुरामा ख्याल गर्नुपर्ने सुझाव दिए ।

राजनीतिक संवाद समितिले काठमाडौंको बानेश्वरस्थित इन्द्रेणीमा बिहीबार आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

जेनजी अगुवालाई सुझाव दिँदै भट्टराईले भने, ‘ राजनीतिमा ख्याल गर्नू । सबै दृश्य मात्र हुँदैन । अदृश्य पनि धेरै कुरा हुन्छ । अहिले जोसमा सबै गर्दिन्छौं जस्तो त लाग्छ । तर, वास्तविकतामा सोचेजस्तो त्यस्तो हुँदैन । हात्तीसँग लड्नुपर्दा गाह्रो हुन्छ । त्यसैले राजनीतिमा धेरै कुरामा ख्याल गर्नुपर्छ ।’

उनले अगाडि भने, ‘हिजो हामीले अपूर्णतासहितको संविधान बनायौं । आधा अहिले भरौं, आधा भर्दै गरौंला भनेर लेख्यौं । संविधान जारी भएकै दिन बाहिर आएर मैले बोलेको थिएँ । यो आधा गिलास भरी छ, आधा खाली छ भनेको थिएँ । अहिले संघीयता लगायतका कुरा फ्याक्ने हैन । बरु त्यो अपूर्ण छ । त्यसलाई पूर्ण बनाउनुपर्छ । यी कुरालाई क्रमशः सुधार्नुपर्छ भनेर लाग्नुपर्छ भनेको थिएँ ।’

पुरानो शक्तिले यो सम्भव छैन भने पनि नयाँ चाहिन्छ भनेर १० वर्षदेखि वैकल्पिक शक्तिका लागि आफूहरू लडिरहेको उनले बताए ।

‘संविधान जारी भएको दिनदेखि बोल्ने बाबुराम यहीँ छ । अरू तीनवटा टाउकाले १० वर्षदेखि चलाएका थिए । त्यसविरुद्ध हामी लडिरहेका थियौं । हाम्रो ताकत पुगिरहेको थिएन । त्यसमा अहिले तपाईंहरूको ताकत थपिएको छ । यसमा हाम्रो पूर्ण साथ छ,’ उनले भने ।

यही आधा गिलास खाली संविधानकै कारण सुशासन र सोचेजस्तो तीव्र आर्थिक वृद्धि ल्याउन नसकेको भन्दै उनले अब यसमा सुधार आवश्यक रहेको र यसबारे जेनजीहरूलाई यो कुरा बुझाउन चाहेको बताए ।

विश्वसनीय र बलियो वैकल्पिक राजनीतिक ध्रुवीकरणको आवश्यकता बढेको विश्लेषण गर्दै, डा. भट्टराईले उक्त संवादको मध्यस्थको भूमिका निभाइरहेका छन्। सहभागीहरूले नेपाली राजनीति नयाँ दिशातर्फ मोड्न सक्ने संरचनागत विकल्पहरूको खोजी यस छलफलको मुख्य उद्देश्य रहेको बताएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार